पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी


नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को टोली म्याग्दीका नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो ।

पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्र्रिया सुरु गरेको छ । बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका तारा गौतमले बताउनुभयो । “नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना छ ।”

टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताउनुभयो । टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताउनुभयो ।

सडक विस्तारसँगै पुराना पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिएको पोखरेलले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल, वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रीपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाँडा, मालिकालगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको बताउनुभयो । हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामीण जीवनशैली म्याग्दीका पर्यटकीयस्थलका आकर्षण हुन् । नयाँ पर्यटकीयस्थलमा आवास सुविधाको व्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाइ थियो ।

यो पनि – राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषक पुरस्कृत

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङमा तीन कृषकलाई पुरस्कृत गरिएको छ । धादिङबेँसी कृषि ज्ञान केन्द्रले ४१औँ विश्व खाद्य दिवसका अवसरमा सोमबार पुरस्कार वितरण गरिएको हो । समारोहमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७१ अनुसार छनोट भएका कृषकलाई पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताउनुभयो ।

तरकारी खेतीमा अब्बल धुनीबेँसी नगरपालिका–५ का युद्धप्रसाद न्यौपाने, भैँसीपालन र दूध उत्पादनमा उत्कृष्ट नीलकण्ठ नगरपालिका–६ का दयालक्ष्मी श्रेष्ठ र तरकारी खेती तथा कुुखुरापालनमा राम्रो आम्दानी गर्न सफल नीलकण्ठ नगरपालिका–२ का उर्मिलादेवी कार्की नेपाललाई रु १०/१० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पुरस्कृत कृषकलाई नगद पुरस्कार प्रदान गर्दै आगामी दिनमा अब्बलरूपमा कृषिमा लाग्न आग्रह गर्नुभयो ।

कृषि ज्ञान केन्द्रले साउनमा पुरस्कार दाबी गर्न कृषकलाई सार्वजनिक सूचना गरेकामा ११ कृषकले पुरस्कार दाबी गरेका थिए । सबै कृषकको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर पुरस्कारका लागि सिफारिस गरेको थियो ।

यसैगरी समारोहमा हाम्रो पहल, उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि शीर्षकअन्तर्गत माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा उत्कृष्टहरूलाई समेत पुरस्कार वितरण गरिएको छ । दश विद्यालयका २० सहभागी प्रतियोगितामा चन्द्रोदय माविका रेजिना लोहनी प्रथम, नीलकण्ठ माविका कोइशन भण्डारी द्वितीय, बालमन्दिर माविका सुमन गुरुङ, तृतीय र धादिङ बोर्डिङ सेकेण्डरी स्कुलका आदर्श सुवेदी सान्त्वना हुनुभयो । पुरस्कृतलाई क्रमशः रु दुई हजार, एक हजार ५००, एक हजार र ८०० पुरस्कार प्रदान गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस