बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो


बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन् । घाइतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ । अन्य घाइते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ ।

जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो पनि – बैतडीमा जीप दुर्घटना : चार जनाको मृत्यु

बैतडीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

दुर्घटनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन् । मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ । जीप सडकबाट १०० मिटर तल खसेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस