‘चनपा वडास्तरीय कप फुटसल प्रतियोगिता’ यही मङसिर २४ र २५ मा


चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै सोही अवसरमा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीका बीच पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ८० हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने छ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् ।

प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भन्नुभयो, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोग समेत गर्ने छ । ”

कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताउनुभयो । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद , राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लवले खेलकूदका विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् ।

नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले गतवर्षदेखि प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ ।

यो पनि – न्यानो घर निर्माणमा आर्थिक अभाव

पाल्पा, तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ । दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताउनुभयो । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण थालिएको हो । भवन निर्माण सम्पन्न भएपछि वृद्धवृद्धाका लागि इन्टरनेटसहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको बञ्जाडेले बताउनुभयो । रु ३० लाख लागतको सो भवन गत असारमा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो ।

न्यानो घर निर्माण नहुँदा वृद्धवृद्धा समस्यामा परेका छन् । स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । वृद्धवृद्धालाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ । “आफ्ना समकक्षीसँग अनुभव आदनप्रदान गर्न गरी समय बिताउन सहज हुने छ”, बञ्जाडेले भन्नुभयो ।

तानसेनका नगर प्रमुख अशोककुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस