नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट


पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ । प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसवर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेता समूहले रु. एक लाख ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपबिजेता समूहले रु. ८० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।

आगामी पुस १ र २ गते भने दुई÷दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । उक्त प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।

यो पनि –  बागलुङको गलकोटलाई ऋषिङ अध्यक्ष कपको उपाधि

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो । प्रतिस्पर्धात्मकरूपमा सम्पन्न खेलमा गलकोट ३–२ सेटले विजयी भएको हो । शुक्लागण्डकी नगरपालिका गत वर्ष सम्पन्न प्रथम ऋषिङ कपको विजेता हो । यसपटक शुक्लागण्डकीले उपविजेतामा चित्त बुझायो । स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइनलमा पुगेको थियो भने शुक्लागण्डकी भिमाद नगरपालिकालाई हराउँदै फाइनलमा पुगेको थियो । यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ ।

जितसँगै गलकोट नगरपालिकाले रु एक लाख ४० हजार पुरस्कार प्राप्त गरेको छ भने द्वितीय भएको शुक्लागण्डकीले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो भएको बिरुवाले रु ६० हजार र चौथो भएको भिमादले रु ३० हजार पुरस्कार प्राप्त गरेको छ । विजेतालाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । यही मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १६ टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस