राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडी कारबाहीमा, नयाँ कप्तानको जिम्मेवारी सन्दीपलाई


नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानको आज बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको हो । क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरेबमोजिम खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले उनीहरूलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकमा सुरुआती छ महिना सहभागी नगराउने निर्णयसमेत लिएको छ । ज्ञानेन्द्र सन् २०१९ मा नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनुभएको थियो ।

सन्दीपले नेपाली यु १९ राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौँ किंग्स इलेभेन र पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर किंग्सको कप्तानी गरिसक्नुभएको छ । त्यस्तै उहाँले इन्डियन प्रिमियर लिग (आइपिएल) देखि बिग ब्यास लिगसम्म खेलिसक्नुभएको छ ।

खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको भन्दै ज्ञानेन्द्र मल्लसहित केही वरिष्ठ खेलाडीको गुनासो रहेको थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टीकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टीकरण चित्तबुझ्दो नभएको र खेलाडीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले खेलाडीलाई कारबाही गरेको हो ।

त्यसैगरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुस ६ गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशिक्षक सङ्घलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णयसमेत गरेको छ ।

यो पनि – पोखरामा पहिलोपटक शहीद स्मारक ‘ए डिभिजन लिग’का खेल

शहीद स्मारक ‘ए डिभिजन फुटबल लिग’को इतिहासमा पहिलो पटक पोखरामा लिगका खेल सञ्चालन हुँदैछन् । विसं २०११ देखि नेपालमा शहीद स्मारक लिग सुरु भएकामा पहिलोपटक मोफसलले लिग आयोजनाको अवसर पाएको छ । लिग सुरु भएको ६७ वर्षपछि मनाङ मस्र्याङ्दी क्लबको अग्रसरतामा पोखराले लिगको आतिथ्य गर्ने मौका पाएको हो । पोखरा रङ्गशालालाई मनाङले ‘होम ग्राउण्ड’ बनाएपछि उसले खेल्ने तीन खेल यहाँ सञ्चालन हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले राजधानी काठमाडौँमा जारी ‘कतार एवरवेज शहीद स्मारक ए डिभिजन लिग’को चौथो चरणका खेल समाप्तिपछि मनाङका तीन खेल यहाँ आयोजना हुन लागेको जनाएको छ ।लिग निर्देशक सञ्जीव मिश्रका अनुसार पाँचाँै चरणमा आगामी पुस ३ गते मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबसँग पोखरा रङ्गशालामा खेल्नेछ । यसैगरी मनाङले पुस ११ गते ब्रिगेड ब्वाइजक्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ ।

पहिलो खेलका लागि दुवै टोलीका खेलाडी, एन्फा पदाधिकारी तथा लिग निर्देशक र अफिसियलको टोली पोखरा आइपुगेको छ । काठमाडौँ केन्द्रित लिग यसवर्षदेखि राजधानी बाहिर आएको लिग निर्देशक मिश्रले बताउनुभयो । एन्फाले आगामी दिनमा राष्ट्रिय लिगलाई देशका प्रमुख रङ्गशालामा लैजाने योजना बनाएको बताइन्छ ।

उहाँले भन्नुभयो, “यस वर्षको लिग सुरु गर्नुअघि हामीले दशरथ रङ्गशाला, च्यासल, एन्फा कम्प्लेक्स र पोखरा रङ्गशालामा खेलाउँछाँै भनेका थियौँ । एन्फाको चाहना र मनाङको अग्रसरतामा लिग पोखरा आएको छ । लिगलाई राष्ट्रियस्वरुप दिएर मेचीदेखि महाकालीसम्मका स्टेडियमा खेलाउने र सबैले अपनत्व लिन सकोस् भन्ने चाहना राखेका छौँ ।”‘ए डिभिजन लिग’लाई एन्फाले राउण्ड रोविनको योजना बनाएपनि कोभिड–१९ का कारण सम्भव नभएको बताइन्छ । लिगमा सहभागी १४ क्लबले एकआपसमा खेल्नेछन् । हालसम्म २८ खेल दशरथ रङ्गशालामा सम्पन्न भएका छन् ।

पोखरा फुटबल रङ्गशालालाई मनाङ मस्र्याङ्दी क्लबले आफ्नो होम ग्राउण्ड बनाउन राष्ट्रिय खेलकूद परिषद् र एन्फासँग सहमति लिएको छ । मनाङले खेल्ने तीनवटै खेलका सबै खर्च उसैले बेहोर्ने छ । सोहीअनुसार मनाङले क्लबसँग सहमति गरेर पोखरामा खेल्न विपक्षी टोलीलाई निम्ता गरेको लिग निर्देशक मिश्रले बताउनुभयो ।उहाँले भन्नुभयो, “एन्फाले कुनै क्लबलाई पोखरामा खेल्नुहोस् भनेर आग्रह गर्दैन । क्लबकाबीच एकापसमा सहमति भएर पोखरामा खेल्न तयार छौँ भनेर सहमति बुझाएपछि एन्फाले आफ्नो खेल तालिकामा राखेको हो ।”

एन्फाले सुरुआतमा तीन खेलको तालिका पोखरामा राखे पनि आगामी दिनमा अन्य खेल पनि यही हुनसक्ने जनाएको छ । लिगको दसौँ चरणपछि क्लबको नम्बर बराबर हुने अवस्थामा एउटै समयमा विभिन्न रङ्गशालामा खेलाउनुपर्ने अवस्थामा पोखरालाई पनि प्रयोग गर्न सकिने बताइन्छ ।मनाङ मस्र्याङ्दी क्लब उपाध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य विजय घलेले लिगका खेल काठमाडौँ बाहिर पनि लैजाने एन्फाको योजनामा आफूहरुले साथ दिएको बताउनुभयो । यसलाई पोखराबाट सुरु गर्नुपर्दछ भनेर क्लबले अग्रसरता लिएको बताउनुभयो । पोखरामा मनाङका समर्थक बढी रहेको र खेल गतिविधिका कारण पोखरा खेलकूद सहर बन्दै गएकालेसमेत मनाङको प्राथमिकता पोखरा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरामा मनाङका ‘फ्यान’ पनि बढी छन्, यसका साथै नेपालको एउटा स्पोर्टस् क्यापिटल पनि पोखरा हो । दर्शकको चाहना पनि यहाँ खेल होस् भन्ने रहेकाले हामीले छनोट ग¥यौँ ।” घलेले पोखरामा हुने खेलमा दर्शकको राम्रो साथ पाउने विश्वास लिइएको जनाउनुभयो । एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा सञ्चालन हुने खेल व्यवस्थितरूपमा सम्पन्न हुने बताउनुभयो । उहाँले फुटबललाई माया गर्ने समर्थकका लागि सुवर्ण अवसर रहेको भन्दै खेल पर्यटन प्रवद्र्धनमा खेलले सघाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस