आइटीसम्बन्धी शैक्षिक मेला, तीस कलेजको सहभागिता


‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ । युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ । मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी कलेजले ५१ वटा कक्ष राखेका छन् । उक्त मेला पल्स टु सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिनुभयो ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायतका शैक्षिक विषयमा मनोविमर्शसमेत दिइने छ ।

यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिममञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका निर्देशक ढकालले जानकारी दिनुभयो । नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको बताइएको छ ।

यो पनि – जर्मनीद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गर्नुभएको हो । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो । कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उहाँले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताउनुभयो ।

“कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,” मन्त्री खतिवडाले भन्नुभयो, “जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।” नेपालमा स्वास्थ्यबीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पु¥याएको सहयोग स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।

भूकम्प पश्चातको पुनःनिर्माणअन्तर्गत जर्मनी सरकारको सहयोगमा गोरखा, जिरी र रामेछापमा अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको मन्त्री खतिवडाले जानकारी दिनुभयो । यस्तै जर्मनी सरकारले रिकभरी–२ कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर स्वास्थ्य चौकी, भक्तपुरको झौखेल स्वास्थ्य चौकी, साँखु प्राथमिक अस्पताल र बझाङ्को मेलबिसौनी स्वास्थ्य चौकी निर्माणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ ।

यस्तै डडेल्धुरा अस्पतालको मातृ तथा बाल स्वास्थ्य भवन र स्टाफ भवन निर्माणको काम भइरहेको, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअन्तर्गत तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा सेटलाइट अस्पताल बनाउने काम अघि बढेको छ । जर्मनी सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो । सो अवसरमा नेपालका लागि जर्मनीका कार्यवहाक राजदूत डा रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताउनुभयो । उहाँका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ । यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ ।

प्रतिक्रिया दिनुहोस