रक्षामन्त्री डा मीनेन्द्र रिजालद्वारा राजिनामा


रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गर्नुभएको हो । राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । यसअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गर्नुभएको हो । “नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा पेश गर्नेछु”, नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भन्नुभएको छ ।

कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

यो पनि – कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ । सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना गरिनेछ । कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस