सन् २०२२ मा इयूले ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने चेतावनी


युरोपेली सङ्घ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ । चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ ।‘यूरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताउनुभएको छ ।यसै बिषयमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भन्नुभयो, “ ओमिक्रोनका हकमा दुई वा तीन दिन नयाँ सङ्क्रमण दोबर बनेको देखिएको छ । यो निकै धेरै हो ।”

यो पनि – बेलायतमा कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो ।

इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले सङ्क्रमितको त्यस्तो उच्चसङ्ख्या आउँदा केही सातामा कम हुने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्क्रमण फैलिइरहेको समय क्रिसमस पनि परेको र यतिबेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको अतिरिक्त (वुस्टर) मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोब्बर भएको पाइएको बताउनुभयो ।कोभिड र यसको पछिल्लो संस्करण ओमिक्रोन सङ्क्रमण बढ्दै जाँदा राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिएको उहाँले बताउनुभयो ।

प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताउनुभयो । उहाँका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो । बेलायतमा विगत २८ दिनमा कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ ।

यो पनि -तालिबानद्वारा मार्चमा अधिकार र सहायताको लागि जनाइएको प्रतिवद्धता लागू गर्न अफगानी महिलाद्वारा सरकारलाई आग्रह

अफगानिस्तानको राजधानीमा बिहीबार दर्जनौँ महिलाले तालिवान सरकारबाट शिक्षा, रोजगारी र राजनीतिक प्रतिनिधित्वको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।अफगानिस्तानका नयाँ कट्टर तालिबान शासकहरूले सार्वजनिक विरोध प्रदर्शनलाई प्रतिबन्ध लगाएपनि बिहीबार काबुलमा महिलाहरूले प्रदर्शन गरेका हुन् ।

सहभागीहरूले ‘भोजन, पेशा र स्वतन्त्रता’ भनेर नारा लगाउँदै सहर परिक्रमा गरेका थिए । महिलाहरूले राजनैतिक पद पाउनुपर्ने माग गर्दै प्लेकार्डहरू बोकेर पुरूषहरूले पनि प्रदर्शनमा साथ दिएका थिए ।तालिबानले सन् १९९० को तुलनामा नरम शासनको प्रतिज्ञा गरेका भएपनि महिलाहरूलाई अझै पनि धेरै हदसम्म सरकारी रोजगारी र माध्यमिक विद्यालय शिक्षाबाट बहिष्कृत गरिएको छ ।

विरोध गर्न अनुमति दिइएको बताइए पनि आफूहरू देशका नयाँ शासकहरूसँग डराएरैै आवाजलाई दवाउनु परेको सहभागीहरुले बताएका छन् ।२८ वर्षीया शाहेरा कोहिस्तानले भनिन्, “डर सधैं हुन्छ, तर हामी डरमा बाँच्न सक्दैनौं । हामीले आफ्नो डरविरुद्ध लड्नुपर्छ ।”तालिबान समूहले अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेपछि पूरानो शक्तिलाई विश्वासमा लिएर शारिया कानूनको परिधिभित्र रहेर नागरिकका मागहरूलाई सम्बोधन गर्ने बताएको थियो । सत्तामा पुगेपछि तालिवानबाट गरिएका प्रतिवद्धतालाई पालना नगरेको विपक्षीहरूको आरोप रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस