“भरतपुरमा मेयर र सांसद दुवै माओवादीले नै पाउने हो भने कांग्रेसले किन राजनीति गर्ने ?”


काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो पार्टीसँग लामो सहकार्य गर्ने हो भने भरतपुर महानगरपालिकाको मेयर त्याग गर्नुपर्ने औंल्याएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, ५ “दलीय गठबन्धनले महानगरको बारेमा फाइनल डिसिजन दिएको छैन । एकातिर प्रचण्ड म नेपाली कांग्रेससित सहकार्य गर्छु भन्दै हुनुहुन्छ, अर्कातिर भरतपुरको मेयरका लागि मरिहत्ते गर्दै हुनुहुन्छ । चितवन क्षेत्र ३ बाट लिने हो र नेपाली कांग्रेससँग सहकार्य गर्ने हो भने यसपटक सेक्रिफाइस गर्नुपर्छ । सबै कुरा उहाँलाई नै चाहिने हो भने नेपाली कांग्रेस किन चाहियो ?”

डा. कोइरालाले नेपाली कांग्रेसले भरतपुर नछाड्ने पनि स्पष्ट पारे । उनले थपे, “भरतपुरका बारेमा कुनै शंका नगर्नस् । प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन म जाने होइन, भरतपुरका जनताले नै भोट दिने हो । साथीहरुसँग सल्लाह नगर्ने, माथिबाट उम्मेदवारी थापर्दा स्थिति नाजुक हुन्छ । मैले तालमेलै गर्नुहुँदैन भनेको होइन, स्थानीय तहबाट आएको प्रस्तावले मात्र गठबन्धन सार्थक हुन्छ । काठमाडौंमा बसेर होइन, जिल्ला जिल्लामा गएर वस्तुस्थिति बुझ्नुपर्यो ।”

आफूले पार्टीमा कुनै भागबन्डा नमागेको उनले स्पष्ट पारे । डा. कोइरालाले भने, “तपाईंहरु धेरै बोल्दै हुनुहुन्छ । यस्ता कुरा नगर्नुस् । भागबन्डाको कुरै होइन । यो नेपाली कांग्रेसलाई डिभाइडेड गर्ने कुरा हो । हामीले केन्द्रीय समितिको निर्णयलाई मान्नुपर्छ । केन्द्रीय समितिले आवश्यकता र औचित्यलाई हेरेर गर्ने भनेको छ । हामीले त्यसलाई सहर्ष स्वीकारेर अघि बढ्ने हो । हामी नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्छौं । कांग्रेसले कस्तो काम गरेको छ ? जनताले मत दिनुभन्दा पहिले सोच्छन् ।”

प्रतिक्रिया दिनुहोस