अर्थमन्त्रीले राजीनामा नदिने हो भने गभर्नरसँग मिलेर जानुको विकल्प छैन : पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल


काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर प्रकरणमा राजीनामा दिने नदिने अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामा भर पर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नैतिकतालाई तपाईंले कसरी लिनुहुन्छ ? त्यसमा भर पर्छ । नैतिकता देखाउने वा नदेखाउने अर्थमन्त्रीकै कुरा हो । राजीनामा दिने वा नदिने आआफ्नो इच्छा हो । तत्कालीन अर्थमन्त्री महेश आचार्यले राजीनामा दिनुभएकै हो । राजीनामा नदिने हो भने गभर्नरसँग मिलेर जानुको विकल्प छैन । देश चलाउनु छ, अर्थतन्त्र अप्ठ्यारोमा छ । व्यक्तिगत इगो लिएर काम गर्दा देशलाई गाह्रो हुन्छ । नेताहरुका यस्ता कुरा आइरहन्छन् । मिलेर काम गर्ने वातावरण बनाउनुपर्छ । मिल्न सक्दिन भन्ने हो भने पद छाड्नुपर्यो ।”

गभर्नरमाथिको छानबिन कार्यदल नै गलत ढंगले बनेकाले पुनर्बहाली स्वाभाविक भएको पनि डा. नेपालले औंल्याए । उनले भने, सर्वोच्च अदालतको अन्तरिम निर्णय एकदमै जायज छ । सरकार भनेको सुपर रेगुलरेटी निकाय हो नि । दोष किटान नगरीकन अर्थमन्त्रीले बिनाकारण निलम्बन गर्नुहुँदैनथ्यो । कि नेपालको संविधान अनुसार न्यायपरिषद्बाट स्वीकृति लिएर काम गर्नुपथ्र्यो, कि नेपाल राष्ट्र बैंक ऐन नै संशोधन गर्नुपथ्र्यो । कार्यदल नै ऐन अनुसार नभएपछि त्यसै पनि यो लागू भएन ।”

गभर्नरको पुनःबहालीले केन्द्रीय बैंकमा प्रहार गरिरहनु हुँदैन भन्ने सन्देश गएको उनले स्पष्ट पारे । डा. नेपालले भने, “म आफैं पूर्व गभर्नर हुँ । मैलाई पनि बारम्बार प्रहार गर्न खोजिएको थियो, सकेनन्, त्यो आफ्नो ठाउँमा छ । गभर्नरको पुनःबहालीले केन्द्रीय बैंकमा प्रहार गरिरहनु हुँदैन भन्ने सन्देश गएको छ । यो राम्रो कुरा हो ।”

प्रतिक्रिया दिनुहोस