परीक्षणमा साझा यातायातका विद्युतीय बस


काठमाडौँ, वैशाख २५ गते । साझा यातायातले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको छ । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याइने साझा यातायातले जनाएको छ । परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ । बसको दर्ता, रुट परमिट, बीमा, चालकलाई तालिमलगायतका प्राविधिक काम सम्पन्न भएपछि परीक्षण गरिने साझाका सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षण सफल भएको चार महिनामा बाँकी ३७ वटा विद्युतीय बस आउने छन् । साझाले चीनको सीएचटीसीएचओ कम्पनीसँग एउटा बसलाई डेढ करोड रुपियाँका दरले खरिद गरेको हो । ४० वटा बसको मूल्य करिब ६१ करोड रुपियाँ पर्छ ।

परीक्षणका लागि पहिलो चरणमा नौ मिटर लम्बाइका बस ल्याइएको छ । अब १२ मिटर लम्बाइका लामो दूरीमा सञ्चालन गर्ने बसहरू ल्याइने छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका बस ल्याइएको छ । सरकारले २०७५ पुसमा तीन सय विद्युतीय बस सरकारले खरिद गर्ने निर्णय गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझालाई बस खरिदका लागि तीन अर्ब रुपियाँ दिइएको छ तर साझाले सम्झौताअनुसार काम नगरेको भन्दै २०७६ असोजमा उक्त रकम फिर्ता लिइएको थियो । २०७७ माघमा मन्त्रालयले फेरि साझालाई नै बस खरिद गर्न तीन अर्ब रुपियाँ दिएको थियो । सोही सम्झौताअनुसार साझाले पहिलो चरणमा तीनवटा विद्युतीय बस ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस