जिम्बावे ए विरुद्ध नेपाललाई एकदिवसीय शृंखला


काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङप्रेरित नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै एकदिवसीय शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु जिम्बावेले ३३ ओभरमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा आएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर १७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले ।

आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किँदा सुनील धमला ६ रन बनाएर आउट भएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।

यसअघि रोहित कुमार पौडेल गोल्डेन डक भएका थिए । बलिङतर्फ जिम्बावे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावे ‘ए’ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २१३ रनको योगफल तयार गरेको थियो । त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको अन्तिम खेल समयमा सुरु हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

बिहान ९ः३० बजे हुने तय भएको खेल वर्षाका कारण मैदान चिसो हुँदा १२ः ३० बजे मात्रै सुरु भएको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ले ३२.१ ओभरमा विकेट गुमाएर २ सय १३ को योगफल तयार गरेको थियो ।

जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के ।

जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

जिम्बाब्वे ‘ए’का भिक्टोर न्याउची शून्यमा अविजित रहे । बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए ।

यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

विश्वकप लिग २ अन्तर्गत अर्को महिना अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले जिम्बावे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो दिएको हो । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’सँग यसअघि खेलेको ट्वान्टी २० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १–१ को बराबरीमा सकिएको थियो ।

एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो । आज भएको निर्णायक एकदिवसीयमा ६ विकेटको जित निकालेसँगै नेपालले शृंखला आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया दिनुहोस