सुदूरपश्चिम विश्वविद्यालयमार्फत गेटा मेडिकल कलेज सञ्चालनमा आउने


काठमाडौं । गेटा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयमार्फत सञ्चालनमा आउने भएको छ । सरकाले आर्थिक वर्ष २०७९/२०८० को बजेटमार्फत गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा स्थापना गर्ने निर्णय भएको गेटा मेडिकल कलेज उनकै पालामा सञ्चालनमा आउने भएको हो । सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना समेत रहेको गेटा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालय मातहतमा रहने गरि सञ्चालन हुने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

गेटा मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालय मातहतमा रहने गरि सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा ल्याइने अर्थमन्त्री शर्माले बताए । ‘सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गरिने छ’ अर्थमन्त्री शर्माले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/२०८० को बजेटमा उल्लेख छ ।

सरकारले आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज खोल्न भनेको थिए । गेटा मेडिकल कलेजको विषय नीति तथा कार्यक्रममा समावेश नगरी डडेल्धुरामा मेडिकल कलेज खोल्न कुरा ल्याएको भन्दै नेकपा एमालेले राजनीति गर्न खोजेको थिए । उक्त नीति तथा कार्यक्रममा एउटा प्रदेशमा कम्तिमा दुईवटा मेडिकल कलेज खोल्ने कुरा भएकाले सुदूरपश्चिम प्रदेशमा गेटा र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने निश्चित थियो ।

६ महिनाभित्र भौतिक पूर्वाधार तयार हुने गेटा मेडिकल कलेज बजेटमार्फत सञ्चालनमा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेतृ आरजु देउवाले बताउँदै आएका छन् । तर एमालेले नीति तथा कार्यक्रममा गेटाको विषय नपरेको भन्दै राजनीति गर्न खोजेको थियो । बजेटमार्फत गेटा मेडिकल सञ्चालनमा आउने निश्चित भएपछि यो विषय टुंगिएको छ ।

प्रधानमन्त्री देउवाकै पहलमा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र गेटामा मेडिकल कलेज सञ्चालमा आउने भएको हो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले डडेल्धुरामा सरकारी मेडिकल कलेज स्थापना गर्नु पर्ने आवाज उठाउँदै आएका थिए । डा. केसीको एजेन्डालाई सरकारले मुर्त रुप दिएको छ ।स्वास्थ्य लाइभ

प्रतिक्रिया दिनुहोस