कम्युनिस्टको खोल ओडेर मुलुक लुट्न पल्केकाहरु किन एक हुन्छन् ?


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरे, राष्ट्रिय जनमोर्चाले सही थाप्यो ? देउवा अझै पनि एसपीपीको समर्थन गर्ने दाउमा छन् । तर त्यसलाई नेपाली जनताले समर्थन गर्नेवाला छैनन् । विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्रको हामीले भण्डाफोर गरेका छौं । आमालाई पोइला लगाएर जारी बुझेर खान्छ र राष्ट्रिय जनमोर्चाले ?”

राजमोले सरकारलाई दिएको समर्थन किन फिर्ता नलिएको भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले भने, “सरकारलाई दिएको समर्थन फिर्ता गर्दैमा राष्ट्रियता बच्छ ? मुलुकमा सरकार चाहिँदैन ? बिनासरकार मुलुक चल्छ ? केपी ओलीले हामीले दिएको समर्थन खौलामा लगेर फाले । संविधान च्यातचुत पारे, दुई‍-दुईचोटि संसद् भंग गरे । राष्ट्रघात त शेरबहादुर देउवाले मात्र होइन, राणाकालदेखि नै गरेका छन् ।”
अमेरिकाले एसपीपीका निम्ति टुप्पीदेखि पैतालासम्मको बल लगाएको पनि राजमो अध्यक्ष केसीको आरोप छ । उनले भने, “अमेरिकी साम्राज्यवाद मानवजातिकै दुश्मन हो । उसको कालो कर्तुत जनतालाई राम्ररी थाहा छ । अमेरिका नेपाललाई चीनविरोधी रणनीतिक मैदान बनाउनका लागि टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको छ । अहिले डोनाल्ड लु एसपीपीकै लागि आएका हुन् । नेपाली जनताले एक दिन त्यसको हिसाबकिताब गर्छन् ।”

तत्काल कम्युनिस्ट गठबन्धन हुने सम्भावना पनि केसीले अस्वीकार गरे । उनले भने, “कम्युनिस्ट भए न एक हुन्थे । कम्युनिस्टको खोल ओडेर मुलुक लुट्न पल्केकाहरु किन एक हुन्छन् ?” आगामी निर्वाचनमा आफ्नो पार्टी गठबन्धन नभए एक्लै पनि जान तयार भएको उनले बताए ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय समितिले निष्पक्ष रिपोर्ट दिनुपर्ने पनि उनले औंल्याए । केसीले थपे, “संसदीय विशेष समितिमा ११ जना सांसद छन् । तिनले दूधको दूध पानीको पानी गर्नुपर्छ । म गल्ती नगरेको भए जबर्जस्ती कारबाही गर्नैपर्छ, शूलीमा चढाउनुपर्छ भन्ने पक्षमा छैन । गल्ती कमजोरी गरेकै हो भने किन माफी दिनुपर्यो ?”

प्रतिक्रिया दिनुहोस