किक बक्सिङमा नेपाललाई ६ स्वर्ण


काठमाडौं । भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण जितेको छ ।

टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पार्नुभएको छ ।उहाँले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि समेत हात पार्नुभयो ।

च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण जित्नुभएका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधि पनि पाउनुभयो । ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी प्राप्त गर्नुभयो ।

स्वर्ण जित्ने खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जयराम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले हुनुहुन्छ । भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो ।

आयोजकले नेपालबाट सहभागी सबैले स्वर्ण जितेको भन्दै नेपाललाई सम्मान गरेको थियो । नेपाली टोलीको प्रशिक्षकमा जगत धामी र टिम ब्यवस्थापकमा कसि कुमारी क्षेत्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस