चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको भन्दै बुवा आए मिडियामा


काठमाडौं । पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङ्गमहाका फिरोज मिया अन्सारीको हस्पिटल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विरंज हेल्थ केयर हस्पिटल र अपरेशन गर्ने डा.आसिफ अन्सारीको कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन् ।

फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते विरंज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको मृतकका बुवा जुमन अन्सारीले बताए । फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा.आसिफ अन्सारीको टोलीले अपरेसन गर्दाको गल्ती नै छोराको मृत्युको कारण भएको अन्सारीले दाबी गरे ।

उनले भने,‘बाबुको अपरेसन गरेको केही घण्टामा नै दुखाई सुरु भयो, हामीले डाक्टरलाई भन्यौ, उहाँले केही हुँदैन् भन्नुभयो र फेरी साउन २८ गते दोस्रोपटक अपरेसन गर्नुभयो ।’

उनले दोस्रो अपरेसन पछि छोरालाई भेन्टिलेटरमा राखेको र २९ गते डा.आसिफ अन्सारीले त्यहाँ नियन्त्रण नहुने भनेपछि हेलिकप्टर चार्टड गरेर ललितपुरको मेडिसीटी हस्पिटल ल्याएको जानकारी दिए ।

मेडिसिटी हस्पिटलमा उपचारको क्रममा फिरोजको गत भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उनले सुरुको उपचारमै गल्ती भएको बताए । उनले भने,‘डाक्टरको लापरवाहीले नै मेरो छोराको मृत्यु भएको हो ।’

अपरेसन गर्ने बेलामा डाक्टरले ३ वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारले आरोप लगाएको छ । उनीहरुले हस्पिटल संचालक डा.अब्दुल हैज अन्सारी र अपरेशन गर्ने डा.आसिफ अन्सारीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस