तालिवान शासनद्वारा राष्ट्रिय सेना गठन


काबुल, १२ भदौ ।तालिवानद्वारा सञ्चालित प्रशासनले एक लाख ५० हजार जना सैन्य कर्मचारी भएको राष्ट्रिय सेना गठन गरेको छ । सरकारी समाचार समिति बख्तरका अनुसार राष्ट्रिय सेनाको सङ्ख्या अझ बढ्न सक्नेछ ।

राष्ट्रिय सेनामा हाल एक लाख ५० हजार कर्मचारी रहेका र त्यसमा अझ वृद्धि हुनसक्ने कार्यवाहक रक्षामन्त्री मौलावी मोहम्मद याकुव मुजाहिदलाई उद्धृत गर्दै बख्तरले जनाएको छ । रक्षा मन्त्रालयको प्राविधिक टोलीले बितेको एक वर्षमा बिग्रेका ६० वटा हेलिकप्टर मर्मतसम्भार गरेको छ ।

गत वर्षको अगष्टमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सेना फर्किएपछि त्यहाँको सरकारलाई सत्ताच्युत गरेर तालिवान समूह सत्तामा आएको हो । अमेरिकी नेतृत्वको सुरक्षा फौज अफगानिस्तानमा सक्रिय रहँदा एक लाख ५० हजार जनाको राष्ट्रिय सेनासहित तीन लाख ५० हजार सम्मिलित सुदृढ सुरक्षा बलले देशमा शान्ति सुव्यवस्था कायम गरेको थियो । (रासस/सिन्ह्वा)
––

प्रतिक्रिया दिनुहोस