काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा प्रशन्न अर्यालद्धारा स्वतन्त्र उम्मेद्वारी घोषणा


काठमाडौं, १२ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं-७ बाट ओरियन्ट कलेजका सह–प्राचार्य प्रशन्न अर्यालले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अर्यालले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

टोखा नगरपालिका–५ स्थायी घर भएका अर्यालले क्षेत्र नम्बर ७ लाई धेरै नजिकबाट बुझ्ने मौका पाएकोले सोही क्षेत्रबाट उम्मेद्वारी दिन लागेको सुनाए । उनले भने,‘नजिकबाट धेरै बुझ्ने मौका पाएकोले त्यहीअनुसार मैलै उम्मेद्वारी दिन लागेको छु ।’ उनले आइतबार आफ्नो तेह्र पुस्ता र कुल देवतालाई साक्षी राख्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

७ नम्बर क्षेत्रल मिनि–नेपालको रूपमा चिनिने भन्दै उनले देशको नेतृत्वमा तहमा बसेकाले नै आफ्नो क्षेत्रलाई ओझेलमा पारेको आरोपसमेत लगाए । आफ्नो क्षेत्रले गत २०६४ सालदेखि कोही पनि स्थायी नेता नपाएको समेत उनले गुनासो पोखे । उनले भने,‘०६४ मा एक नेताले जितेर जानुभयो, त्यहाँ फेरी उहाँलाई निरन्तरता दिन सकिएन्, त्यस्तै ०७० र ०७४ सालमा फेरी अर्का एक जनाले जितेर जानुभयो तर उहाँको जनताको घाउमा मल्हम लगाउन कतै संलग्नता पाइएन् ।’

उनले अरुले गर्दैन् भनेर चुप बस्ने हो भने देशको अवस्था कहिल्यै नफेरिने तर्क गरे । अर्यालले आफु दलको विकल्पको रुपमा राजनीतिमा होमिन लागेको सुनाए । उनले आफुले समग्र युवाहरुको सोच र विचारलाई प्रतिनिधित्व गर्नेसमेत बताए ।

स्वतन्त्र उम्मेद्वारको प्रतिस्पर्धी स्वतन्त्र हुनै नसक्ने भन्दै उनले स्वतन्त्र उम्मेद्वारहरु एकै स्थानमा आउनुपर्नेमा जोड दिए । स्वतन्त्र उम्मेद्वारहरु राजनीतिक दलविरुद्ध उभिनुपर्ने उनको भनाइ थियो ।

देशमा धेरैपटक विभिन्न प्रकारका आन्दोलन भएर व्यवस्था फेरिएको तर जनताका अवस्था उस्तै रहेको उनको गुनासो छ । उनले विगत १० वर्षदेखि गर्दै आएका शिक्षण पेशा छाडेर ७ क्षेत्र नम्बरलाई नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिवद्धता समेत जाहेर गरे । अर्यालले आफुले ५ वर्षे कार्यकालमा गर्ने कामले देशले पनि केही सिक्नेसमेत दाबी गरे ।

उनले दल र यसमा आवद्ध नेताहरुले आफ्नो स्थानमा बसेर नैतिकता राखेर राजनीति गरिदिएको भए आफुजस्ता युवाहरु राजनीतिमा होमिन नपर्ने धारणा राखे । उनले भने,‘यो हाम्रो हरेक युवाको विडम्बना हो ।’

प्रतिक्रिया दिनुहोस