डेंगी रोग नियन्त्रणका लागि देशभर ‘खोज र नष्ट गर’ अभियान


काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको आरोप छ ।

रिपोर्टर्स क्लब नेपालमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए ।

उनले भने,“यसले संविधानको उल्लघंन भएको छ । उहाँ संविधानको संरक्षक हुनुहुन्छ, संरक्षकबाट नै संविधानको उल्लघंन गरियो । यो हुनुहुँदैनथ्यो, यो नेपालको लागि बडो दुःखद् कुरा हो । अब यसले नयाँ समस्या सिर्जना गरेको छ ।”

मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरुबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनैपनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे । उनले भने,“संविधानले तोकेका विषय वा अरु कुनैपनि राज्य सञ्चालनका विषयमा राष्ट्रपतिले गर्ने काम प्रधानमन्त्रीले सिफारिस गरेका, मन्त्रीमण्डलको निर्णयबाट सिफारिस भएका निर्णयहरुलाई स्वीकृत गर्ने काम हो तर त्यो हुन सकेन ।” उनले २०७२ सालमा मेहेनतका साथ संविधान जारी गरेको समेत स्मरण गराए ।

सहमति नजुटेका बुँदाहरुलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरु र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरुलाई राखेर नागरिकता विधेयक सदनमा पेश गरिएको उनले स्पष्ट पारे । केपी ओलीको सरकारले संसद्लाई भंग गरेर नागरिकता विधेयकलाई अध्यादेशमार्फत जारी गराएको समेत उनले बताए ।

मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरुको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने,‘‘सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छौं।’’ उनले आफ्नो घर, छर–छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागीता जनाउन आम नागरिकलाई मन्त्रालयबाट आह्वान गरिएको समेत जनाए । बजारमा औषधी अभाव हुन नदिन आवश्यक प्रवन्ध गरिएको पनि उनको भनाई छ । डेंगीले बिहान र बेलुका बढी टोक्ने भएकोले विशेषगरि दिउँसो शरीर ढाक्नेगरि लुगा लगाउन उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस