‘स्वदेशी’ अभियानमा आबद्ध हुनेलाई सहुलियत


काठमाडौँ । उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो । मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारले निजी क्षेत्रबाट उपयुक्त सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गर्नुभयो । भारत, अस्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसङ्घको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिन सके स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगीलाई आश्वस्त हुने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो ।

परिसङ्घको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान एकै ठाउँबाट हुने गरी एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस