काभ्रेपलान्चोक १ मा माओवादीका सूर्यमान दोङ विजयी


काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३४ हजार ५१२ मत प्राप्त गर्नुभयो भने एमालेका लामाले ३० हजार ५४८ मत प्राप्त गर्नुभएको थियो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का गणेशकुमार कपालीले एक हजार १२७ मत, जनता समाजवादी पार्टी नेपालका धनबहादुर तामाङले ३५० मत, नेमकिपाका पूर्णसिंह तामाङले ९४ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामाले ४६ मत प्राप्त गर्नुभयो ।

त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका प्रशान्त केसी (तिमल्सिना) ले १०१ मत, राप्रपा नेपालका गोविन्दराज गिरीले ८५ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका कमलबहादुर लामा (तामाङ) ले ३५७ मत, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनका जोगमान लामाले २७८ मत पाउनु भयो । यसै गरी स्वतन्त्र उम्मेदवारहरु जीतबहादुर मोक्तानले १८४ मत, माधवप्रसाद कँडेलले ३३ मत, रुक्मिणी श्रेष्ठले ४८३ मत, ज्ञानेन्द्रकुमार तामाङले २३९ मत र राजन घोरासाइनेले ५९ मत प्राप्त गर्नुभएको थियो । जिल्लाको प्रतिनिधि सभा १ र २ को प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणनाको काम सकिएको र राजनीतिक दलहरूले प्रतिनिधि पठाएपछि समानुपातिकतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनुभयो । समानुपातिकतर्फको मतगणनाको काम शनिवारदेखि नै सुरु गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस