नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन


काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ ।

भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ ।

अङ्ग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामनि रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो । यो नाटकले सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रूपमा नेपालबाट अमेरिका पुगेका भुटानी-नेपाली-अमेरिकी मानिसहरूको इतिहास र संस्कृतिको चर्चा गरेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्य घटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।

त्यस्तै, दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्युजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेख्नुभएको यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो ।

नाटक सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ । आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रूपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्गलाई नाटकमा देखाइएको छ ।

आइतबारै साँझ ७ः३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ । मङ्सिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस