चौथौँ पटक विजयी जनार्दन शर्माको भोट १५ वर्षमा १२ प्रतिशतले वृद्धि


रुकुमपूर्व । वि.सं. २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनदेखि जनार्दन शर्माले चौथौँ पटक विजय हुनुभएको छ ।

वि.सं. २०४८ सालमा पहिलो पटक निर्वाचनमा उठेका उहाँ सो बेला कांग्रेस नेता गोपालजिङ् शाहसँग पराजित हुनुभएको थियो ।

तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि उहाँले २०६४ देखि २०७९ मङ्सिर चार पटकसम्म आइपुग्दा १५ वर्षको अवधिमा रुकुमबाट निरन्तर निर्वाचित हुनुहुन्छ ।

जितसँगै उहाँले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै र मत सङ्ख्या पनि बढाइरहनुभएको छ । २०६४ मा सदर मतको ५७.११ प्रतिशत मत पाउनुभएका शर्माले १५ वर्षको अवधिमा १२ प्रतिशतले मत बढाउनुभएको हो ।

२०६४ सालमा जिल्लामा कुल खसेको मध्ये ३९ हजार ५ सय ३१ मत सदर हुँदा शर्माले २२ हजार ५ सय ७५ मत पाउनुभएको थियो । यो कुल सदरमतको ५७.११ प्रतिशत थियो ।

६ वर्षपछि २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा शर्माले उक्त प्रतिशत बढाएर ६३.२५ प्रतिशत पुर्‍याउनुभयो । उक्त निर्वाचनमा ४७ हजार ८ सय ५५ मत सदर भएकोमा शर्माले ३० हजार २ सय २७ मत पाउनुभयो ।

त्यसको ४ वर्षपछि शर्माको मत ३ प्रतिशतले बढेर ६६.२७ प्रतिशत पुग्यो । उक्त निर्वाचनमा जिल्लाभरमा खसेको मध्ये ५१ हजार ९ सय १५ मत सदर भएको थियो ।

उक्त मत कुल सदर मतको ६६.२७ प्रतिशत थियो । अहिले २०७९ साल मङ्सिर ४ सम्म आइपुग्दा शर्माको मत २०७४ को तुलनामा ३ प्रतिशत र पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि ११.९२ प्रतिशतले बढेको छ ।

मङ्सिर ४ को निर्वाचनमा जिल्ला भरमा कुल ६० हजार ५ सय २७ मत खसेको र त्यसमध्ये ५७ हजार २ सय ९५ मत सदर हुँदा शर्माको पक्षमा ६९.३ प्रतिशत मत खसेको छ । उहाँले ३९ हजार ५ सय ४९ पाएर चौथौँ पटक विजयी हुनुभयो ।

प्रतिक्रिया दिनुहोस