इलाम १ मा खनाललाई पराजित गर्दै एमालेका बस्नेत बिजयी


पशुपतिनगर । नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ बिजयी हुनुभएको हो ।

बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत पाउनुभयो । बस्नेतले जम्मा २ हजार ९ सय ५७ मतको अन्तरले खनाललाई पराजित गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

समानुपातिक तर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । खनाल गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो । एमालेबाट ६ पटक सो क्षेत्रबाट निर्वाचित खनाल एमाले बिभाजित भएपछि नेकपा (एस) मा जानु भएको थियो ।

२०४८ बाट निर्वाचनमा होमिनुभएका खनालको यो दोस्रो पराजय हो । यसअघि २०५६ मा नेपाली कांग्रेसका वेनुपराज प्रसाईले खनाललाई हराउनु भएको थियो । त्यस यताका निर्वाचनमा बिजयी बन्दै आउनुभएका खनाल २०६८ मा २०४ दिन प्रधानमन्त्री समेत बन्नु भएको थियो ।

खनाललाई हराउनु भएका नेता बस्नेत खनालकै चेला हुनुहुन्छ । बस्नेत २०५४ र २०७४ मा इलाम नगरपालिकाकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस