प्रधानमन्त्री देउवासँग डा.सीके राउतको भेट : आपसी सहकार्यका विषयमा छलफल


काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर   जनमत पार्टीका अध्यक्ष डा‍‍‍. सीके राउतले भेट गर्नुभएको छ ।

केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनपछि डा. राउतले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै सङ्घ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गर्नुभएको छ। उक्त भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता बिमलेन्द्र निधिसमेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा उठाउनु भएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिनुभयो ।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनुभएको साहको भनाइ छ ।

राउतको पार्टीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा ७ स्थानमा विजय हासिल गरेको छ । अध्यक्ष डा.राउत सप्तरी जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

सो पार्टी मधेश प्रदेशमा ५ र लुम्बिनी प्रदेशमा एक गरी प्रदेश सभामा सात स्थानमा विजय भएको छ ।

प्रतिक्रिया दिनुहोस