कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवम् नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो ।

कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवम् मुलुकको पहिचानका महत्त्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र संवर्द्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको संवर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र संवर्द्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उहाँले भन्नुभयो ।

नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रूपमा स्थापित भएको बताउनुभयो । छ/सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र संवर्द्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।”

प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावी पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यक पर्ने बजेट सरकारले व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस