क्रिस्टियानो रोनाल्डो अब साउदी अरबको क्लब अल नासरमा


काठमाडौं । पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि उहाँको नयाँ गन्तब्यको विषयमा चासो र चर्चा बढेको थियो । कतार विश्वकप जारी रहँदा युनाइटेडसँगको सम्झौता टुङ्ग्याएपछि रोनाल्डो कहाँ जानुहुन्छ भन्ने ब्यक्त जासोलाई उहाँले शुक्रबार राति अन्त्य गर्नुभएको छ ।

३७ वर्षीय रोनाल्डोलाई साउदी अरबको क्लब अल नासरले अनुबन्ध गरेको छ । रोनाल्डोले अल नासरमा कीर्तिमानी रकममा अनुबन्ध हुनुभएको हो । रोनाल्डोलाई अल नासरले वार्षिक दुई सय मिलियन युरोभन्दा बढी रकममा अनुबन्ध गरेको बताइएको छ ।

रोनाल्डोले आफु युरोपबाट एसियाको नयाँ यात्रा गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । ‘‘खेल जीवनमा युरोपमा सबैखाले उपाधि जितेँ । अब एसियामा नयाँ अनुभव साट्नेछु । यहाँको लिग मेरा लागि नयाँ अनुभव हुनेछ,’’ रोनाल्डोले भन्नुभयो ।

रोनाल्डोलाई युरोपकै चेल्सी, जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड र फ्रान्कफर्ट लगायतले अनुबन्धको प्रयास गरेका थिए । तर रोनाल्डोले यसपटक एसिया रोज्नुभएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस