आफ्ना नागरिकमाथि प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना


टोकियो । चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै, उसले उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग गरेको छ ।

चीनमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आफ्नो भूमिमा प्रवेश गर्ने चिनियाँलगायत अन्यलाई कोभिड–१९ परीक्षणको नकारात्मक प्रतिवेदन प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियम लगाएपछि चीनले पनि त्यसको प्रतिवाद गर्दै प्रवेशाज्ञा दिन बन्द गरेको हो ।

चीनले मंगलबार जापान र दक्षिणकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । जापानले चीनको उक्त निर्णयलाई प्रतिशोधात्मक एवम् खेदजनक कदम भनेको छ ।

टोकियोले कूटनीतिक माध्यमबाट चिनियाँ निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्च्याउन माग गरेको सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए ।

सोलस्थित चिनियाँ दूतावासले मङ्गलबार अनलाइन पोस्ट गरेको सङ्क्षिप्त सूचनाअनुसार दक्षिणकोरियाली नागरिकलाई पर्यटन वा व्यापारको लागि चीन जाने प्रवेशाज्ञा निलम्बन गरिएको छ । सोलले चिनियाँ नागरिकमाथिको भेदभावपूर्ण व्यवहार नहटाएसम्म कोरियालीमाथिको प्रतिबन्ध लागू रहनेछ ।

चीनबाट कोरिया जानचाहने यात्रीले बितेका ४८ घण्टामा कोरोना सङ्क्रमण नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेपछि चीनले संसारका सबै देशसँगै त्यसैअनुरुप व्यवहार गर्ने बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोभिड–१९ को प्रकोपको स्थितिबारे वास्तविक तथ्याङ्क नदिएको आरोप बेइजिङमाथि लगाएको छ भने पछिल्लो समय अमेरिकालगायत दर्जनौँ देशले चीनबाट आफ्ना भूमिमा आउन चाहने चिनियाँसहित जुनसुकै देशका नागरिकले आफूलाई कोरोना सङ्क्रमण नभएको पुष्टि गर्ने प्रयोगशाला प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानलाई अनिवार्य गरेको छ ।

महामारीका बीच चीनले गत महिना अचानक कोभिड–१९ नियन्त्रणसम्बन्धी उपाय हटाएपछि विश्वसमुदाय सशङ्कित भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमा कोरोना महामारीमा परी धेरै नागरिकको ज्यान गएको जनाएका थिए ।

केही साताअघिसम्म कठोर नियम कार्यान्वयन गराएको विरोधमा देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन भएका थिए । कलकारखाना बन्द गर्ने घरबाहिर निस्कन नपाउने नियमको विरोधमा सर्वसाधारण उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस