थप १० स्थानमा एनआईसी एसिया बैंकको सीडीएम, सोझै मसिनबाट रकम जम्मा गर्न सकिने


काठमाडौं । एनआईसी एसिया बैंकले नगद रकम सोझै मसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा थप १० स्थानमा सञ्चालनमा ल्याएको छ । यो सँगै ग्राहकले मसिनबाटै बैंकमा रहेको आफ्नो वा अरुको खातामा सोझै नगद रकम जम्मा गर्न सक्नेछन् ।

बैंकमा पुगेर भौतिक फारम भर्नु पर्नेजस्ता झन्झटबाट ग्राहकलाई मुक्त गराउने योजनाका साथ यो सेवा विस्तार गरेको हो । यो सँगै काठमाडौंको न्युरोड विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिस्टर्ड अफिस (थापाथली) शाखामा यो सेवा उपलब्ध भएको छ ।

त्यस्तै रूपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ स्थित विराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा यो मेसिन राखिएको बैंकले जनाएको छ ।​

क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ ।

खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमार्फत पाँच सय र हजारका सयका नोट राखी एक पटकमा अधिकतम ९९ हजार पाँच सय र दैनिक अधिकतम लाख ९९ हजार पाँच सय सम्म नगद जम्मा गर्न सकिने उल्लेख छ ।

यसमार्फत नगद जम्मा गर्नका लागि सेवाग्राहीले मसिनमा रकम जम्मा गर्न चाहेको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् । उक्त ओटीपी कोर्ड मसिनमा राखी भेरिफाइ गरेपश्चात् रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ ।

उक्त मसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने उल्लेख छ । त्यसरी जम्मा गरेको रकमको जानकारी एसएमएस तथा रिसिप्टमार्फत ग्राहकलाई उपलब्ध हुनेछ ।

यसले भोलिका दिनमा नगद जम्मा गर्न भौतिक फारम भरी बैंकको काउन्टरमा लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस