ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण


ताइपेई । ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो ।

रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ । बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन् । तालिमा सहभागी हुने महिलाको सङ्ख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ ।

हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ । यद्यपि, महिलाहरू पनि सशस्त्र बलमा स्वयम्सेकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ । ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पुर्‍याएको छ । अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन् ।

गत महिना राष्ट्रपति साई इङ्ग वेनले अनिवार्य सैन्य सेवाको अवधि बढाइएको घोषणा गर्नुभएको थियो । प्रथम महिला राष्ट्रपति उहाँले गरेको उक्त घोषणाको स्वागत गर्दै केही महिला सांसदले नारीलाई पनि सैन्य तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए । भावी पुस्ताका निम्ति लोकतान्त्रिक जीवनशैली सुनिश्चित गर्न सैन्य सेवा विस्तार अपरिहार्य भएको राष्ट्रपतिले बताउनुभएको छ ।

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन् । पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रुपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूलभूमिमा एकीकरण गर्ने बताउँदै आएको छ । एक देश दुई शासन पद्धतिअनुरुप बेइजिङले ताइवानमाथि अप्रत्यक्ष रुपमा शासन गर्दै आएको छ । यद्यपि उसले ताइपेईलाई स्वयत्तता प्रदान गरेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस