मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्ः परराष्ट्रमन्त्री पौड्याल


काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।

शुक्रवार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनुभयो।

उहाँले नीति र बजेटमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताउनुभयो। मन्त्री पौड्यालले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादन पनि उब्जाउन सक्ने क्षमताको भए पनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताउनुभयो। उहाँले मानव श्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताउनुभयो।

मन्त्री पौडेलले भन्नुभयो, ‘‘परराष्ट्रमा गएपछि सबैभन्दा पहिला मैले हेरेको अन्तर विषयगत मन्त्रालयको समन्वय नभएका कारणले पहिला नै पूरा हुनुपर्ने परियोजना सकिएका छैनन्। नीतिमा पनि त्यस्तै भइरहेको छ। संविधान छ कानुन छैन, कानुन छ, नीति छैन, नियम, कार्यविधि छैनन्। नीतिसँग वार्षिक बजेट र कार्यक्रम जोडिनुपर्छ। कहिलेकाहीँ वार्षिक कार्यक्रममा पर्छ बजेटमा छैन, समन्वय नभएका धेरै कुरा छैनन्। भौगोलिक विविधताका कारण हामीलाई जतिबेला जे पनि उब्जाउन दिएको छ। त्यसलाई राम्रोसँग उपयोग गर्न सकेका छैनौँ। अर्को ह्युमन डायभर्सिटी, मानव श्रोतको विविधता हो।’’

मन्त्री पौडेलले खाद्य उत्पादन र वितरणमा विभेद हुनाले भोकमरीको समस्या समाधान गर्न नसकिएको बताउनुभयो। उहाँले कोहीलाई खानु नहुने र पर्यात्प खान पाउने अवस्था रहे पनि कोही भने खान नपाएर मरिरहनुपरेको अवस्था रहेको बताउनुभयो। उहाँले खाद्य सामग्रीको उत्पादन र वितरणमा भइरहेको विभेदलाई अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय खाद्य सामग्री सहजै हाट बजारमा पाउने व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा फुड हेबिटलाई पुरानै अवस्थामा फर्काउन जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘खाद्य भनेको कुरा बनाएर खान मिल्दैन उब्जाउनै पर्छ। केही न केही उब्जाएपछि बल्ल मिसाउने हो। त्यसैले उत्पादन महत्वपूर्ण हो, त्यसपछि डिस्ट्रिब्युसन र क्रयशक्तिको कुरा हो। फुड सेक्युरिटीमा विभेद भइरहेको छ। कोही खान नपरोस् भनेर चलिरहेका छन्, कोही खान नपाइरहेका छन्। त्यसैले विभेद उत्पादनमा छ, वितरण प्रणालीमा छ, यसलाई अन्त्य गर्नुपर्छ। भोकमरीको अवस्थालाई अन्त्य गर्नको लागि के स्राेत र साधन छ कसरी प्रयोग गरिरहेका छौँ त्यो बुझ्न आवश्यक छ।’’

मन्त्री पौड्यालले खाने बानीलाई पुरानै अवस्थामा फर्काउन नेपालमा ठूलो क्याम्पियन चलाउन जरुरी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस