राष्ट्रपति भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ ।

राष्ट्रपति भण्डारीले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

‘‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते शुक्रबार दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ९५ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था छ ।

त्यस्तै, धारा ९५ को उपधारा २ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था नेपालको संविधानमा छ ।

प्रतिक्रिया दिनुहोस