राजनीति जता पनि मोडिन सक्छ : अध्यक्ष नेपाल


गाईघाट । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार गाईघाटमा आयोजित कार्यकर्ता भेटघाटका अवसरमा यस्तो बताउनुभएको हो ।

नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेकोले सङ्घीयता र संविधानमाथि नै खतरा रहेको छ भन्दै नेपालले थप्नुभयो, “तरल अवस्थामा रहेको राजनीतिको धार सिधा मात्र बग्छ भन्ने छैन । यो जति बेला पनि र जता पनि मोडिन सक्ने भएकोले गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको छ ।”

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने भन्नुभएको कुरा साह्रै स्वागतयोग्य रहेको नेपालको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र कम्युनिस्टहरू मिलेर अगाडि जान सके देश र जनताले मुक्ति पाउन सक्नेछन् ।

नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्काे गठबन्धनबाट सरकार निर्माण हुनुले मुलुकमा राजनीतिक तरलता छाएको भन्दै गणतन्त्रवादी र गणतन्त्र विरोधीबीच भएको यो अपवित्र गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने उहाँले बताउनुभयो ।

सरकारले देश, जनता र राष्ट्रियतालाई सर्वाेपरी मानेर सङ्घीयता, गणतन्त्रलाई जोगाउँदै देशभक्तिको झन्डालाई सदा उँचो बनाएर काम गर्नुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । नेता नेपालले झापा जिल्लामा हालै भएको एक कार्यक्रमप्रति लक्षित गर्दै उहाँले अब कुनै वंश विशेषको दास बन्ने दिन नेपालमा कहिल्यै नआउने दाबी गर्नुभयो ।

उहाँ मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनका लागि गाईघाटमा आइपुग्नुभएको हो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उदयपुर अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस