नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ह्याकाथुन हुँदै, तयारी पूरा


काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यही फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने जनाईएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले ह्याकाथुन कार्यक्रमको तयारी बारे जानकारी दिँदै अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको बताए । विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको उनको दाबी छ ।

‘अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको अवस्था छ । विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको अवस्था छ । प्रश्नपत्रहरु दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदापनि छ महिना, एक वर्षमा नतिजा आउने समस्या छ । अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन् । हाम्रा छिमेकी देशहरु चीन र भारत यसको तुलनमा धेरै अगाडि बढिसकेका छन् । हाम्रो पुस्तालाई अब पछाडि फर्कन छुट छैन । अब हामीले व्यवस्था परिवर्तन गर्नु पर्दैन हामीसँग भएको अवस्था परिवर्तन गर्ने हो,’ उनले भने ।

नेपाल विद्यार्थी संघले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको अध्यक्ष शेर्पाले बताए । ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घन्टौं लामो लाइन र पटक– पटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याहरूको समाधान गर्ने हेतुले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा कार्यक्रम हुन लागेको उनले बताए ।

विशेषगरी सरकारी कार्यालयहरु जस्तै–मालपोत कार्यालय, अध्यागमन विभाग, राहादानी विभाग, यातायात कार्यालयमा हुने गरेका सर्भर डाउनको समया, महिनौंसम्म सेवाग्राहीले सेवना लिन नसकेका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे र उक्त कार्यालयबाट सेवाग्राहीले सेवासुविधालाई प्रविधिको विकास र प्रयोगबाट कसरी छिटोछरितो र चुस्त बनाउने भन्नेबारे चर्चा र प्रयोगहरु गरिनेछ ।

त्यस्तैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से), मोबाईल बैंकिङ लगायतका क्षेत्रको सिस्टममा हुने क्रुटि र प्राविकि समस्यालाई समाधान गर्न विद्यार्थीहरुले कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्नेछन् । त्यस्तै, त्रिभुवन विश्व विद्यालयले लिएका परिक्षाको परिक्षाफल निकाल्न एक वर्ष भन्दा बढी समय लाग्दै आएकोमा शैक्षिक प्रविधिको विकासमार्फत परिक्षा दिएको १५ दिन भित्र नतिजा सार्वजनिक गर्न प्राविधिक ज्ञान, सिपको प्रयोगबाट सहज र छिटो कसरी नतिजा सार्वजनिक गर्न सकिन्छ भन्नेबारे सिस्टमको विकास गरिनेछ ।

यस ह्याकाथुन कार्यक्रममार्फत काठमाडौंलगायत देशभरका शहरहरुमा बढ्दो प्रदुषण र फोहर व्यवस्थापनलाई प्राविधिक साहायतामा कसरी समाधान समाधान गरेर सफा र शुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा सिस्टम तयार पारिनेछ ।

त्यस्तै सरकारी कार्यालयमा दस्तावेजको रुपमा राखिने कागजातहरु खोज्दा नभेटिने अवस्थाको अन्त्य गर्न सरकारी संयन्त्रलाई कसरी चुस्त र तन्दरुस्त राख्न सकिन्छ भन्नेबारे विद्यार्थीहरुले राउन्ड टेवलमा बसेर कोडिङको मद्दतले सफ्टवेयरको विकास गर्ने नेविसंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस