होलीले सांस्कृतिक र भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटन मन्त्री किराती


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज (सोमबार) रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्नुहुँदै उहाँले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।”

पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवर्द्धन गर्न जरुरी भएको बताउनुभयो ।

प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्नसकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उहाँको भनाइ थियो ।

रङ्गहरूको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेषगरी नेपाल र भारतमा यो पर्व धूमधामका साथ मनाइन्छ ।

पर्यटनमन्त्रीले युवाहरूमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवर्द्धनमा जुट्न पनि आग्रह गर्नुभयो । उहाँले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रूपमा मनाउन पनि आग्रह गर्नुभयो ।

होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको साङ्गीतिक प्रस्तुतिले उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो । रासस

प्रतिक्रिया दिनुहोस