हात्तीपाइले रोगविरुद्धको औषधि : लक्ष्य पूरा नहुँदा थपियो समय


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ। १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ पटक यस वर्ष फेरि अभियान चलाइएको हो।

शतप्रतिशत ‘कभरेज’को लक्ष्य लिएर १३औँ पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत ५० प्रतिशत पनि कभरेज नभएपछि १५ दिन समय थप गरिएको छ। फागुन ११ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म उपमहानगरमा ४८ प्रतिशतले मात्र औषधि सेवन गरेकाले १५ दिन थप गरेर बढीभन्दा बढीलाई खुवाउने रणनीति तयार गरिरहेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो।

यो अवधिमा कभरेजलाई ८० प्रतिशतभन्दा बढी गर्ने उद्देश्य रहेको छ। नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले अब केही समय लम्ब्याएर भए पनि कभरेज बढाउने रणनीतिका साथ अघि बढ्नुको विकल्प नरहेको जनाउँदै सबै जनप्रतिनिधि र सरोकारवाला निकाय र स्वयं नागरिक यसमा गम्भीर बन्नुपर्ने बताउनुभयो। स्वास्थ्य महाशाखाको तथ्याङ्कअनुसार उपमहानगरपालिकाको वडा नम्बर ३, ५, ७, ८, ११ र १६ मा ३० प्रतिशतभन्दा कमले औषधि सेवन गरेका छन्। यस्तै वडा नम्बर २, ४, ६, १२, १९, २०,

२१ र २२ मा ५० प्रतिशतभन्दा कम कभरेज रहेको देखिएको छ। हात्तीपाइले रोग ‘फोकल पर्सन’ दुर्गा गौतमले नेपालगञ्ज उपमहानगरपालिकामा ४८ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेकाले कभरेज बढाउनु चुनौती रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस