वीर गणेशमान रोड रेस र बक्सिङ हुने


काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा वीर गणेशमान सिंह १० के रोड रेस र राष्ट्रिय बक्सिङ गरी दुई प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिनुभयो ।

रोड रेसमा पुरुष/महिलाको १० किलोमिटर दौड हुनेछ । दुवै समूहमा शीर्ष ५ स्थान हात पार्ने पुरुष÷महिला खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।

कोर्ष रेकर्ड तोड्ने खेलाडीलाई थप १० हजार नगद पुरस्कार दिइने छ । आयोजकका अनुसार करिब ४ सय खेलाडी सहभागी हुने रेसका लागि करिब १५ लाख रुपैयाँ खर्च हुनेछ । रेसका लागि राजन खत्रीलाई संयोजक तोकिएको छ । रेस दरबारमार्गबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।

बक्सिङमा सातै प्रदेश र ३ विभागीय टोलीका करिव १ सय ४० खेलाडी सहभागी हुनेछन् । पुरुष/महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ ।

प्रत्येक स्पर्धामा पहिलो हुनेलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय रुपियाँबाट पुरस्कृत गरिनेछ । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ । बक्सिङको अनुमानित बजेट ४५ लाख रुपैयाँ रहेको छ ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका लागि बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीलाई संयोजकको जिम्मेवारी दिइएको छ । बक्सिङका खेलहरु बसन्तपुर डबलीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस