प्रधानमन्त्री दाहाल र डब्लुएचओका क्षेत्रीय निर्देशकबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्र (डब्लुएचओ सेरो) की निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच बालुवाटारमा भेटघाट भएको छ ।

डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्र र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि काठमाडौँमा सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुनुभएकी सिंहले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य क्षेत्रमा डब्लुएचओले पुर्‍याएको सहयोग प्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री दाहालले डब्लुएचओले कोभिड महामारीका बेला गरेको सुरक्षा नीति तथा खोपमा पहुँच स्थापित गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारको प्रयास सधैँ जारी रहने बताउनु भएको थियो ।

त्यस्तै भेटका क्रममा डा सिंहले जनस्वास्थ्यका क्षेत्रमा नेपालले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले दक्षिणपूर्वी एशियाली क्षेत्रमै नेपालले उदाहरणीय काम गर्दै आएको बताउनु भयो । सञ्चार माध्यममा मदिराजन्य पदार्थको विज्ञापन रोक्न सर्वोच्चले गरेको फैसलाको समेत स्वागत गर्दै यसलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर बढाउनु पर्नेमा समेत जोड दिनुभयो । सुर्तीजन्य पदार्थमा करको दर बढाए उपभोगमा कमी आउने उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले आफूलाई सही समयमा महत्त्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको भन्दै सिंहलाई धन्यवाद दिनुभयो ।

डा सिंहले नेपालले स्वास्थ्य बजेट बढाउनु पर्नेमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रधानमन्त्री दाहालले सुझावप्रति आफू सकारात्मक भएको बताउनुभएको थियो ।

डा सिंहले मंगलबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल परिसरमा डब्लुएचओको सहयोगमा बनेको ९० बेडको आकस्मिक अस्पताल भवन सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस