दश विशेष समिति स्थापनाको निर्णयका साथ सीपीपीसीसीको बैठक सम्पन्न


बेइजिङ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।

बैठकले सीपीपीसीसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो । स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।

बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गर्नुभएको थियो ।

अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस