नेपाल विद्यार्थी संघले बुझायो पाठ्क्रम सुधारको माग गर्दै  ज्ञापनपत्र


काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) वर्तमान पाठ्यक्रममा सुधारको माग गर्दै पाठ्यक्रम विकास केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघका पदाधिकारीहरुले शिक्षा र विज्ञान कुनै पनि देश र मानव सभ्यताको मौलिकता सापेक्ष हुनुपर्ने मागसहित पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।

पाटन संयुक्त क्याम्पस समितिमा नेविसंघका उपाध्यक्षसमेत रहेका रमेश कुँवरले आफूहरुले अबको शिक्षा मौलिकता, पूर्वीय दर्शन, मानवीय नैतिकता र आध्यात्मिक ज्ञानको आधारमा प्रेरित हुनुपर्छ भन्ने मागसहित् पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको बताए ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै कुँवरले भने– ‘अहिलेको शिक्षामा नैतिकताका कुराहरु र मानवीय मूल्य मान्यतका कुराहरु कम छ । हाम्रो नैतिकता, अनुशासन र चरित्रका कुराहरु कम भए । व्यवसायिक क्षेत्र, शिक्षा क्षेत्र वा राजनीतिक क्षेत्र सबै ठाउँमा नैतिकताका कमी भयो भन्ने हाम्रो बुझाई हो । अबको शिक्षामा भौतिकवादसहित आध्यात्मिकवाद र पूर्वीय दर्शनका कुराहरुदेखि लिएर नैतिक शिक्षा पनि राख्नुपर्छ भनेर हामीले ज्ञापनपत्र बुझाएको हौं ।’

महानिर्देशक अर्यालले नेविसंघको मागलाई सकारात्मक रुपा लिएको उनले बताए । नैतिक शिक्षाको आवश्यकता महसुर गरेर नागरिक शिक्षाको रुपमा पाठ्यक्रम विकासको काम भइरहेकासमेत महानिर्देशक अर्यालको भनाई उदृत गर्दै कुँवरले भने । ‘यो कुरा मलाई पनि मनमा लागिरहेको थियो । नैतिक शिक्षा भन्दा एक थरीका मान्छेले कुरा काट्छन् । हामी चाहिँ नागरिक शिक्षा भनेर लागू गर्दैछौं । हामीलाई सकेको सहयोग गर्नुस् । तपाईँहरुले सही समयमा राम्रो कुरा उठाउनु भएको छ, उहाँ (महानिर्देशक अर्याल) ले भन्नु भएको छ,’– उनले भने ।

यस्ता छन् नेविसंघका ५ बुँदे मागहरुः

-नेपालको मौलिक इतिहाससँग सम्बन्धित विषयवस्तुहरुलाई विशेष प्राथमिकता साथ विद्यालय तहको पाठ्यक्रममा समाविष्ट गरी अध्यापन गर्नुपर्ने ।

-प्रत्येक विद्यार्थीको अन्तर्निहित क्षमता, रुचि र प्राथमिकतालाई मध्यनजर गर्दै समय सापेक्ष रुपमा विज्ञान र आध्यात्मिकताको समन्वय गर्दै प्रभावकारी सिकाइ सुनिश्चित गर्ने ।

-योग, प्राणायम, ध्यान, पूर्वीय दर्शन र आध्यात्मिकतासँग सम्बन्धित ज्ञानलाई विद्यार्थीले सहज ढंगबाट बुझ्न सक्ने गरी श्रव्य दृश्य सामाग्रीहरुको निर्माण, प्रकाशन र प्रसारण गर्ने ।

-माध्यामिक तहमा नैतिक शिक्षा, मौलिक संस्कृति, परम्परा, साहित्य संगीत लगायतका विषयवस्तुलाई प्राथमिकता साथ पठनपाठन गर्ने ।

-प्रत्येक विद्यार्थीलाई अनुशासित, नैतिकवान र चरित्रवानसँगै देश निर्माणमा सर्मपित नागरिक उत्पादनमा प्राथमिकता दिनका लागि सरकार, मातहतका निकाय र सरोकारवालाहरूले छलफल, सभा सम्मेलन, विचार गोष्ठी गर्नुपर्ने र सचेतना अभियान सञ्चालन गर्ने ।

प्रतिक्रिया दिनुहोस