हाम्रो यात्रा लामो छ , हामी हिजो अस्ति आएर बुरुकबुरुक उफ्रेका होइनौं : उपेन्द्र यादव


काठमाडौं  । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफू संसद् छिर्न रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति नबनाएको दाबी गरेका छन् ।

‘रामसहायप्रसाद यादवको जस्तो निष्कलंक छवि र सादा जीवन विरलै पाइन्छ । हामी जनआन्दोलन र मधेस विद्रोहका सहयात्री हौं । समानता र सामाजिक न्यायका सहयात्री हौं । यो उहाँको संघर्ष र त्यागको परिणाम हो । यसले मधेसी जनताको सांकेतिक प्रतिनिधित्व गरेको छ भने राष्ट्रिय एकता र भाइचाराका साथै हिमाल, पहाड र मधेस मिलेर देश बनाऊँ भन्ने सन्देश दिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले भने ।

नवनिर्वाचित उपराष्ट्रपति यादवको निर्वाचन क्षेत्र बारा २ मा उपनिर्वाचन लड्ने सोच बनाइनसकेको पनि उनले बताए । यादवले भने, ‘मलाई थाहा नभएको कुरा तपाईंलाई कसरी थाहा हुन्छ ? मैले त्यसरी सोचेको छैन । सिट खाली भएपछि को लड्ने भन्ने पार्टीले पनि सोचिसकेको छैन । जनता र पार्टीेका साथीहरुले आग्रह गरे भने विचार गर्ने कुरा हो । पछाडि हट्ने कुरा आउँदैन । मलाई कुनै हडबड र हतारो छैन । उपेन्द्र यादव संसदमा आउनुपर्छ भन्ने शुभचिन्तकहरुलाई धन्यवाद छ । उहाँहरुको भावनाको कदर गर्नुपर्छ ।’

तपाईं पाँच वर्ष संसदबाहिर बस्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पार्टीले अनुमति दियो भने म पाँच वर्ष मजाले पार्टी निर्माण र संगठनमा लाग्छु । बारा २ मा लड्नका लागि बारा २ खाली गराएको कसैको अनुमान हुन सक्छ । तर रामसहाय उपराष्ट्रपतिका लागि सबभन्दा उपयुक्त व्यक्तित्व हुनुहुन्थ्यो । पार्टीका इमानदार, मिहिनेती र कुशल संगठक भएका आधारमा हामीले उहाँलाई पठाएका हौं । संसद्को विषयमा पछि छलफल गरौंला । अनुमानका आधारमा अहिले धेरै कुरा नगरौं ।’

जनमत पार्टीसँग तपाईंहरुको विवाद देखियो नि भन्ने प्रश्नमा यादवले भने, ‘जसपा क्रान्ति र सहादतबाट आएको पार्टी हो । जनमत देश टुक्राउनुपर्छ भनेर जन्मेको पार्टी हो । हामीले उहाँहरुबाट कुनै आशा गरेका थिएनौं । देश र जनताको हितमा काम गर्नुहोला भन्ने लागेको पनि छैन । सीके राउत मधेस आन्दोलनताका राजनीतिमा आउनुभएकै थिएन । उहाँको सैद्धान्तिक आधार हो ? लक्ष्य के हो ? तपाईं बताउन सक्नुहुन्छ ? हामी ७५ जिल्लामा छौं । हाम्रो यात्रा लामो छ । हामी हिजो अस्ति आएर बुरुकबुरुक उफ्रेका होइनौं ।’

वर्तमान सत्ता गठबन्धन चार दलको मात्र भएको पनि यादवले औंल्याए । उनले थपे, ‘गठबन्धन भनेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मात्र हो । कोही बाँकी छ भने अरु साथीहरुलाई पनि समेटेर अघि बढ्ने हो । हाम्रो प्रयास सबै दलहरुबीच सहकार्य गरेर मुलुकलाई संकटबाट जोगाउने हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन कुनै कठिनाइ नभएको पनि उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा कुनै दुबिधा छैन । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ । हाम्रो पार्टी पनि सरकारमा सामेल हुन्छ । मन्त्रालयको संख्या पनि हामी बसेर छलफल गरेर मिलाउँछौं । कस्ता कस्ता महाभारत हेरियो । यो कुन ठूलो कुरा भयो र ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले त नेपाली कांग्रेस नेकपा एमालेको पोल्टामा जाने कुरा गरिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘कांग्रेस एमालेको पोल्टामा जाने हो कि एमाले नै कांग्रेसको पोल्टामा आउने ? अहिले गठबन्धन भत्काउने भन्दा पनि सहकार्य गरौं न । किन भत्काउने ? किन तोडफोड गर्ने ? सबै जिम्मेवार भएर मिलेर देश बनाऊँ न ।’

प्रतिक्रिया दिनुहोस