नेपाली क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड


काठमाडाैं । इंग्ल्याण्डको मेरलीबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली क्रिकेटर आसिफ शेखलाई क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने घोषणा गरेको छ ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै शेखलाई अवार्ड दिन लागेको एमसीसीले जनाएको छ ।

उक्त खेलमा आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।

खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए ।

आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । तर आसिफले रन आउट गरेनन् । आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पनि आसिफको खेल भावनाको कदर गर्दै आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस