माओवादीका अयोग्य लडाकुलाई २-२ लाख बाँड्नुभन्दा रोजगारीको सिर्जना गर्नुपर्छ : कोइराला


काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख बाँड्नुभन्दा रोजगारीको सिर्जना गर्नुपर्ने औंल्याएका छन् ।
‘माओवादीका लडाकुलाई राजनीतिक दलहरुले अयोग्य भनेका होइनन्, अनमिनले तोकेको क्राइटेरिया नपुगेर भनेको होला । उनीहरु क्यान्टोनमेन्टबाट बिदा भएको १० वर्ष भैसक्यो । ४ हजार ८ जनालाई ८० करोड बाँड्ने कुरा आएको छ । अयोग्य भनिसकेपछि त्यसरी पैसा दिन हुन्छ कि हुँदैन ? उनीहरुलाई किस्ताकिस्तामा पैसा होइन, रोजगारी पो दिने हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. कोइरालाले भने ।

अर्थतन्त्र धराशयी भएका बेला अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गर्नु गलत भएकलाले तत्काल फिर्ता लिनुपर्ने उनले बताए । डा. कोइरालाले थपे, ‘एकातिर तलब र पेन्सन दिन सक्नुभएको छैन, अर्कातिर पैसा बाँड्न थाल्नुभएको छ । विषम परिस्थितिमा यस्तो निर्णय गर्नु बिलकुल गलत छ । पैसा बाँडेर मात्र कार्यकर्ताको मन जित्न सकिँदैन । शेरबहादुर देउवा र माधवकुमार नेपालले अनुमति दिनुभयो भन्दैमा हामीले बोल्नुहुँदैन भन्ने छैन । सरकारमा नेपाली कांग्रेस पनि छ । त्यो निर्णयको तत्काल फिर्ता लिनुपर्छ ।’

मुलुकमा राजनीतिक स्थिरता र विकासका निम्ति निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको पनि डा. कोइरालाले बताए । उनले भने, ‘अहिलेकोे समानुपातिक निर्वाचन प्रणाली रहँदासम्म एकल बहुमतको सरकार कल्पना नगरे पनि हुन्छ । त्यसैले निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ । यसले राजनीतिक स्थिरता दिन सक्दैन । अस्थिरताको जड निर्वाचन प्रणाली नै हो । ‘अहिले आफूहरु सरकार बदल्ने खेलमा नलागेको पनि उनले स्पष्ट पारे ।

आफूले जिल्ला जिल्लामा पुगेर पार्टीका कार्यकर्तासम्म पुग्ने अभियान थाल्न लागेको पनि डा. कोइरालाले बताए । उनले थपे, ‘तीन क्षेत्रको उपनिर्वाचनले कांग्रेसलाई सच्चिने र सुध्रिने सन्देश दिएको छ । नेपाली कांग्रेस जनतासँग टाढा भएकै हो । अब हामी साथीहरुको विचार लिएर अगाडि बढ्नुपर्छ । आज म मोरङका साथीहरुसँग सल्लाह गर्छु । त्यसपछि जिल्ला जिल्लामा पुगेर साथीहरुको कुरा सुनेर अघि बढ्छु ।’

उपनिर्वाचनपछि पार्टी र नेता कार्यकर्तामा घोर निराशा छाएको पनि डा. कोइरालाले औंल्याए । उनले भने, ‘केही जिल्लाका साथीहरुले हामी कांग्रेस छोड्छौं भनिरहेका छन् । यो घोर निराशाबाट हामी मुक्त हुनुपर्छ । नेपाली कांग्रेसमा यस्ता घटना पहिले पहिले पनि धेरै भएका हुन् । पार्टी विभिन्न आरोह-अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । नेताहरु थाक्लान्, म थाकुँला तर नेपाली कांग्रेसका कार्यकर्ता कहिल्यै थाक्दैनन् ।’

कांग्रेसका भावी सभापतिका रुपमा समेत हेरिएका डा. कोइरालाले आफू पार्टीमा भागबन्डा पनि असल र योग्य नेता कार्यकर्तालाई अवसर दिनुपर्ने पक्षमा रहेको पनि बताए । उनले भने, ‘मेरो ध्यान भागबन्डामा पटक्कै छैन । भएको भए पनि म खुलेआम भन्ने मान्छे हुँ । असल र राम्रो मान्छेलाई अवसर दिनुपर्छ भन्नु भागबन्डा होइन । तैपनि हामीले आफ्ना कमीकमजोरी स्वीकार गर्न सक्नुपर्छ ।’ तीन मन्त्रालय र एउटा राज्यमन्त्रीका लागि आफूले दबाब दिएको नभई शेरबहादुर देउवाले नै दिन लागेको उनले बताए ।

तपाईंका कारण सरकारले पूर्णता पाउन सकेन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘म सभापतिजीकहाँ म गएको हुँ, उहाँले मन्त्रीको नाम दिनुस् भन्नुभयो । मैले कहिले बनाउनुहुन्छ सोधें, उहाँले उपनिर्वाचनपछि भन्नुभयो । त्यसकारण मैले नाम नदिएको हुँ । अहिले राष्ट्रपति इलाज गर्न भारत जानुभएको छ । शपथग्रहण उपराष्ट्रपतिबाट गरे पनि हुन्छ भनेको छु । मेरो कारणले रोकिएको होइन । म प्रधानमन्त्री त होइन नि । क-कसलाई मन्त्री बनाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जो बने पनि सांसद नै बन्छन्, कांग्रेसका नेता नै बन्छन् ।’
प्राइम्स टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पूर्वकांग्रेस नेता डा. अमरेशकुमार सिंहले डा. शेखर कोइराला कांग्रेस फुटाएर प्रधानमन्त्री बन्ने बताउनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अमरेशजी मेरा असल मित्र हुनुहुन्छ । तर उहाँ अहिले पार्टीमा हुनुहुन्न । स्वतन्त्रबाट जित्नुभएको छ । उहाँले किन त्यसरी बोल्नुभयो ? मलाई थाहा छैन । शेखर कोइरालाले पार्टी फुटाउँदैन । जुन परिवारले पार्टी बनायो, उसैले पार्टी फुटाउँदैन ।’

प्रतिक्रिया दिनुहोस