सजग रहौ ! धनगडीका संक्रमित युवकलाई भेटेको १२ दिनपछि मात्र देखियो भाउजूमा कोरोना पोजिटिभ तर अझै पनि भाउजुलाइ कुनै भाइरसको लक्षण देखा परेको छैन


काठमाडौँ, २२ चैत्र । विश्वव्यापी रुपमा महामारी बनेको कोरोना भाइरस कोभिड-१९ ले संक्रमति नेपालीहरुको संख्या ९ पुगेको छ । उनीहरु मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक जना मात्र विदेशबाट आएका संक्रमितबाट संक्रमण भएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। ती आफन्त युवककी भाउजू हुन्।

ति महिलामा आफ्नो देवरसंग भेटेको १२ दिन पछी कोरोना पोजिटिभ भएको पुष्टि भएको हो । तर अचम्मको कुरा ति महिलामा अहिले सम्म कोरोना भाइरसको कुनै पनि लक्षण देखा परेको छैन । कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर अचम्ममा परेको परिवारहरु बताउछन ।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल लगीएको छ।

युवक भने चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए। दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानबाट दिउसो २ बजे काठमाडौका लागि उडेका थिए। चैत ८ गते शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज गएका थिए । नेपालगञ्जबाट भने उनि महेन्द्रनगर जाने माइक्रोबस हाइसमा चढेर अत्तरिया पुगेका थिए।

सकुसल घरमा बसिरहे उनलाई गत चैत्र १० गते रातिबाट ज्वरो आएपछि ११ गते बिहान नै अस्पताल पुर्‍याइएको थियो। चैत १४ गते भने उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि युवकको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

आज संक्रमण पुष्टि भएका अन्य दुई जना भने मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारत उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

नेपालमा आज सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस