सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा एक अर्ब ३२ करोड रुपैया भन्दा बढी रकम जम्मा


काठमाडौँ, २४ चैत । सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रु १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रु ५० लाख, सिभिल बैंक लिमिटेडले रु ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले रु आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले रु तीन लाख कोषमा जम्मा गरेका छन् ।

त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति÷संस्थाबाट कूल रु १२ लाख ५८ हजार ८०२ जम्मा भएका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ ।

०००

यो पनि

कोरोना भाइरसको जोखिम नियन्त्रण र राहतमा रु एक करोड ५० लाख खर्च

चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९)को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा रु एक करोड ५० लाख खर्च गरेको छ ।

नगरप्रमुख प्रमुख घनश्याम गिरिले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) खरिदमा रु ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि रु एक करोड १५ लाख खर्च भएको जानकारी दिनुभयो । नगरपालिकाले चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा रु ७५ लाख रकम विनियोजन गरेको थियो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न लागेको जानकारी दिनुभयो । “आ–आफ्नो ढङ्गबाट राहत वितरण गर्दा कतिपय गरीब मजदूरहरु राहत पाउनबाट छुटेपछि नगरपालिकाले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न लागेको हो,”–उहाँले भन्नुभयो । नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई दश केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफुले गर्दै आएको काम, घरधनीको नाम र घरधनीको सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

सो भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि विशेष गरी दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका विपन्न परिवारलाई समस्या भएको जनाइएको छ । नगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घ संस्थालाई नगरपालिकाको नेपाल बैँक लिमिटेड थानकोट शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं १४३००१०६२९३६६५०००००१ मा जम्मा गर्नसमेत अनुरोध गरेको छ । उक्त खातामा हाल रु १४ लाख रहेको समेत नगरपालिकाले जनाएको छ ।

राउटेका मुखमा मास्क

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् ।

कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले बताएका छन् । गुराँस गाउँपालिकाले नियमित जाँच गर्नाका साथै भाइरसका बारेमा जानकारी गराएपछि उनीहरु माक्स लगाउन तयार भए ।
राउटे समुदायको अहिले गाउँपालिकाले नियमित रुपमा स्वास्थ्यजाँच गर्दै आएको छ । उक्त समुदायमा १५१ सदस्य छन् । गाउँपालिकाले राउटे समुदायलाई मास्क प्रयोग गर्ने तरिका पनि सिकाएको थियो । गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नाप्नाका साथै मास्क पनि वितरण गरेको छ ।

कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती पनि अहिले लकडाउनमा परेको छ । राउटे समुदायका नागरिकलाई बस्तीभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन ।
राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताउनुभयो । सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उहाँको भनाइ थियो । ‘सरकारको निर्देशनअनुसार अहिले हामी बस्तीभन्दा बाहिर गएका छैनाँैं’, उहाँले भन्नुभयो, ‘हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्री आवश्यक छ ।’

राउटे समुदायको स्वास्थ्य जाँच गर्नुभएका अनमी सुमन काफ्लेले कुनै पनि राउटेमा उच्च ज्वरो नदेखिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोनाबाट जोगाउन नियमित स्वास्थ्यजाँच शुरु गरिएको बताउनुभयो । ‘आवश्यक परेमा जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछाँैं’, गाउँपालिका अध्यक्ष वलीले भन्नुभयो, ‘अन्य बेलामा भन्दा कोरोनाको संक्रमण फैलिएको अवस्थालाई ध्यानमा राखी समयसमयमा स्वास्थ्य जाँचमा ध्यान दिएका छाँै ।’

अहिलेसम्म राउटे बस्तीमा कुनै पनि रोगको संक्रमण देखिएको छैन भन्दै उहाँले लोपोन्मुख जाति बचाउन निगरानी बढाइएको बताउनुभयो । ‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाइमा केन्द्रित हुन्छौंँ ।’ उहाँले बस्ती स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका काम गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले गाउँपालिका अहिले सचेतनाको कामलाई जोड दिएर अघि बढेको बताउनुभयो । ‘हाम्रो काम भनेको विपद्को बेलामा निरन्तर रुपमा सचेतना जगाउने हो’ बुढाले भन्नुभयो, ‘यस्तो अवस्थामा चेतना जगाउनु नै हाम्रो मुख्य भूमिका हो ।’

उहाँले राउटे समुदायलाई गाउँपालिकाले २०७५ असारमा परिचयपत्र वितरण गरिसकेपछि निरन्तर रुपमा हेरविचार गर्दै आएको बताउनुभयो । गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा रु एक लाखभन्दा बढी जम्मा भएको छ जसमा गाउँपालिकाका अध्यक्ष वलीले रु २५ हजार जम्मा गर्नुभएको छ । गाउँपालिकाका सबै वडामा बाहिरबाट आउने व्यक्तिको तथ्यांक लिइनाका साथै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यजाँच गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो । बाहिरबाट आएका सबै क्वारेन्टाइनमा छन् ।

त्यसैगरी गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भन्नाका लागि खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा सहकारीमार्फत खाद्यान्न वितरण गरिने बुढाले बताउनुभयो । सोका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार छुट्याएको छ । ‘विश्वमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकामा निरन्तर अनुगमन गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यहाँका नागरिकको स्वास्थ्य अवस्थाका साथै खाद्यान्न उपलब्धताको अवस्थाका विषयमा निरन्तर जानकारी लिइरहेका छौँ ।’

गाउँपालिकाका बिरामी अस्पताल वा क्वारेन्टाइनमा लैजानका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले बताउनुभयो । ‘कोरोनाको संक्रमणको बेलामा केही समस्या भएमा अस्पताल लैजानका लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ’ उपाध्यक्ष बिसीले भन्नुभयो, ‘जसले गर्दा उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।’ त्यसैगरी हेल्थ डेस्क सेन्टरबाट पनि नियमित रुपमा स्वास्थ्यजाँच भइरहेको उपाध्यक्ष बिसीले बताउनुभयो ।

गाउँपालिकामा भारतबाट आएका व्यक्तिको लगत संकलनसंँगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मी घरघर पुगेर स्वास्थ्य जाँच गरेका छन् । गाउँपालिकाका ठाउँठाउँमा क्वारेन्टाइनसमेत व्यवस्थापन गरिएको छ । िजाँचका लागि आवश्यक सबै सामग्री उपलब्ध भएकाले कुनै जोखिम नभएको स्वास्थ्यकर्मी बताउँछन् ।

भरतपुर अस्पताललाई सहयोग

जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन् । अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस् भनेर अस्पताललाई मास्क हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो । केही दिनमा नै थप मास्क अस्पताललाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।

आइतबार ती संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई पाँच हजार थान मास्क प्रदान गरेको थियो । यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रालीले भरतपुर अस्पताललाई ६०० थान साबुन प्रदान गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुवास कुमार तिवारीले जानकारी दिनुभयो ।

तिवारीले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गर्नुभएको हो । चितवन उद्योग सङ्घअन्तर्गतको युवा उद्यमी मञ्चले पञ्जा, सेनिटाइजर र मेडिकल टोपी अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा अधिकारी र सुपरिटेन्डेन्ट डा तिवारीलाई तीन हजार थान पञ्जा, ३० लिटर सेनिटाइजर र ३०० थान टोपी हस्तान्तरण गर्नुभएको हो ।

उक्त सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा अधिकारीले सङ्कटका बेलामा सबै संस्थाको सहयोगले काममा सहयोग हुने बताउनुभयो । सहयोगप्र्रति आभार प्रकट गर्नुहुँदै उहाँले यसलाई आवश्यकताअनुसार अस्पतालमा खर्च गरिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस