अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो, भारतको स्थिति भयावह हुदै (विश्वभरको ताजा अपडेट)


काठमाडौँ, १४ जेठ । अमेरिकामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दुवै सबै भन्दा धेरै रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या १ लाख ५७२ पुगेको छ । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो । त्यसै गरि संक्रमितको संख्या १७ लाख २५ हजार २७५ जना पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या ४ लाख ७९ हजार ९६९ जना रहेको छ ।

अमेरिकामा संक्रमित र मृतकको संख्या धेरै हुनुको अर्को कारण अमेरिकी सरकारले गरेको ठुलो मात्रको कोरोना परिक्षण पनि हो । अमेरिकामा अहिले सम्म विश्व कै सबै भन्दा धेरै १ करोड ५५ लाख ३२ हजार १५९ जनामा कोरोना संक्रमण टेस्ट भइसकेको छ ।

अमेरिकाको इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी  २९ हजार ४५१ जनाको ज्यान गैसकेको छ । त्यहाँ संक्रमितको संख्या ३ लाख ७३ हजार ६२२ पुगेको छ ।

संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलो पटक देखिएको थियो । अमेरिकामा त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो । गत वर्ष सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको उहानमा पहिलोपटक देखिएको कोरोनाभाइरसले फेब्रुअरीसम्ममा धेरै व्यक्तिको ज्यान लिइसकेको थियो भने जनवरी २२ मा १७ जनाको मृत्यु भएसँगै उहानमा लकडाउन जारी थियो ।

अमेरिकामा भने कोरोनाभाइरसबाट फेब्रुअरी २९ मा मात्र पहिलो व्यक्तिको मृत्यु भएको थियो । मार्च र अप्रिल महिनामा अमेरिकामा मृत्युदर अत्यन्त बढी थियो । अप्रिल १५ मा एकै दिन २६ सयको ज्यान गएको थियोे । लकडाउन, सामाजिक दूरी र अन्य कडा नियमको कार्यान्वयनका कारण यद्यपी मे १२ देखि मृत्युदरमा सामान्य कमी आएको छ, र यो दैनिक एक हजारभन्दा मुनि छ ।

विरोधाभाष त के भने, अमेरिकामा पहिलो व्यक्तिको मृत्यु भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस “चिनियाँ भाइरस”ले अमेरिकीलाई खासै असर नगर्ने बताइरहनु भएको थियो । अझ उहानलाई लकडाउनमा राखेर त्यहाँका जनताको मानव अधिकार हनन भएको उहाँको आरोप थियो ।

तर अमेरिकामा हटस्पटका रुपमा न्यूयोर्क राज्य देखियो । यहाँ एकै राज्यमा झण्डै ३० हजारको अकालमा ज्यान गइसकेको छ । शव व्यवस्थापन नै चुनौती बनेको यस राज्यको सम्पूर्ण स्वास्थ्य प्रणाली छिन्नभिन्न भएको थियो । खासगरी, बुढाबुढी, कमजोर स्वास्थ्य रहेका, श्वासप्रश्वास समस्या भएका, मधुमेह, उच्च तनाब, मुटुरोग, मृगौला रोगी, क्यान्सर जस्ता दिर्घरोगी व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । यही मे १३ सम्म न्यूयोर्कका १५ हजार २३० जनाका सम्बन्धमा न्यूयोर्क सिटी हेल्थले गरेको सर्वेक्षणमा पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका ७५ वर्षभन्दा माथिका व्यक्तिमध्ये ५ हजार २३६ जना, ६५ देखि ७४ वर्ष उमेरका २ हजार ८०१ जना तथा ४५ देखि ६४ वर्ष उमेरका २ हजार ८५१ जनाको मृत्यु भएको उल्लेख छ ।

अमेरिकी जनजीवनलाई नराम्रोसँग गाँजेको अमेरिकामा १७ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् । स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएकाले अझै पनि दिनहुँ ठूलो संख्यामा संक्रमित भेटिएका छन् । तर स्वास्थ्य ठूलो कि अर्थतन्त्र ? यी दुई बहसमा अल्झिएका राष्ट्रपति ट्रम्पमाथि मानिसको स्वास्थ्यलाई महत्व नदिएको र अर्थतन्त्रप्रति मात्र ध्यान दिइरहेको आलोचना खेप्न बाध्य हुनु भएको छ । उहाँ औलोको औषधि हाइड्रोक्लोरोक्वीनको सेवन गरेमा कोरोना ठीक हुन्छ भन्ने विवादास्पद भनाईमा अडिग हुनुहुन्छ, जबकी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र वैज्ञानिकहरुले यही औषधिको जथाभावी सेवनका कारण पनि धेरै अमेरिकीको ज्यान गएको बताइरहेका छन् । डब्लुएचओले त यो औषधिलाई कोरोना रोगका सन्दर्भमा अनुसन्धान परीक्षण गर्न समेत प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

मास्क समेत लगाउन हिच्किचाउने हठी स्वभावका राष्ट्रपति ट्रम्पको ध्यान विश्वकै पहिलो अमेरिकी अर्थतन्त्रलाई कहिले खुला गर्ने भन्नेमै छ । उहाँ दिनहुँ भन्नुहुन्छ – अमेरिका बन्द गर्नका लागि होइन, यो खुला छ खुला हुनु पर्छ । एसोसिएटेड प्रेसका अनुसार राष्ट्रपति ट्रम्पले आफूले राम्रोसँग नेतृत्व गरेकै कारण मृत्युसंख्यामा कमी आएको बताउनुभएको छ । तर कुनै पनि महामारी वा युद्धका कारण यतिठूलो संख्याका अमेरिकीको मृत्यु भएको पहिलो पटक हो ।

ट्रम्पको भनाइप्रति असहमति जनाउने अमेरिकी राज्यका गभर्नरहरुले लकडाउनका नियम एकाएक हटाउन नहुनेमा जोड दिइरहेका छन् । उनीहरुको भनाईमा अमेरिकालाई विस्तारै, क्रमिक रुपमा खोल्नु पर्छ । खासमा अमेरिकामा २५ लाखभन्दा बढी मानिस बेरोजगार भइसकेकाले पनि राष्ट्रपति ट्रम्पमाथि दबाब छ ।

यही गाँठोमा अहिले अमेरिकी समाज छ । ट्रम्पकै भनाइलाई ठीक ठान्ने कतिपय कट्टरपन्थीहरु पेशा, व्यवसाय खोल्न माग गर्दै बन्दुक समेत लिएर सडकमा उत्रिएका दृश्यहरु संचार माध्यममा आइरहेका छन् । अहिले अमेरिकाका कैयौं समुद्री तटमा मानिसहरु सामाजिक दूरी र अन्य नियमहरुको बेवास्ता गर्दै स्वतन्त्र रुपमा घुम्न थालिसकेका छन् । उता, युरोपमा कोरोना संक्रमणमा कमी देखिएसँगै पसल, व्यवसाय, स्कुलहरु खुला गर्न थालिएको छ तर उच्च सावधानीका साथ ।

कोरोनाभाइरसले आर्थिक रुपमा समृद्ध, सुदृढ स्वास्थ्य प्रणाली, उच्च जनचेतना र शिक्षित समुदायको बाक्लो बसोबास रहेका पहिलो विश्वका मुलुकहरुमा धेरैको ज्यान लिइसकेको छ । यही सेरोफेरोमा अमेरिकी अग्रसरता खासगरी राष्ट्रपति ट्रम्पको भनाईमा साथ दिइरहेका विकसित मुलुकहरु र चीनबीच कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर एक प्रकारको वाकयुद्ध नै जारी छ । चीनले उहानस्थित इन्स्टिच्यूट अफ भाइरोलोजीमा कोरोनाभाइरस तयार गरी अन्यत्र फैल्याएको र समयमै भाइरसबारे जानकारी नगराएको ट्रम्पको आरोप छ । आफ्ना कमजोरी ढाकछोप गर्न राष्ट्रपति ट्रम्पले चीनमाथि आरोप लगाएको चीनले बताइरहेको छ । अधिकांश वैज्ञानिकहरुले उहानका सडकमा खुलेआम बिक्री गरिने चमेरो समेतका वन्यजन्तुबाट कोरोनाभाइरस मानिसमा सरेको बताइरहेका छन्, तर यसबारे पूरै तथ्य पुष्टि भइसकेको छैन ।

कोरोना भाइरस कोभिड-१९ बाट दक्षिण एसियामा भारतमा स्थिति भयावह बन्दै गएको छ । त्यहाँ संक्रमितको १ लाख ५१ हजार ८७६  पुगेको छ ।

त्यसै गरि कोरोनाका कारण भारतमा हाल सम्म ४ हजार ३४६ जनाको ज्यान गइसकेको छ । निको भएर घर फर्किनेको संख्या भने ६४ हजार ४२६ जना रहेको छ । भारतमा मंगलबार ५ हजार ८४३, सोमबार ६ हजार ४१४ र आइतबार सबै भन्दा बढी ७ हजार ११३ जना नया संक्रमित भेटिएका थिए । शनिबार ६ हजार ६२९ जना नया संक्रमित भेटिएका थिए । त्यस्तै शुकाबर ६ हजार ५६८ र बिहिबार ६ हजार १९८ लाई संक्रमण भएको थियो । गत बुधबार ६ हजार १४७ लाई संक्रमण भएको थियो ।

त्यसै गरि मंगलबार १७२, सोमबार १४८ र आइतबार १५६ जनाको मृत्यु भएको थियो । शनिबार १४२, शुक्रबार १४२ र बिहिबार १५० जनाको मृत्यु भएको थियो । पछिल्लो समय भारतले लकडाउनलाई केहि खुकुलो बनाएपछी झन् संक्रमण बढ्ने विज्ञहरुले चेतावनी दिएका छन ।

भारतीय राज्य महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७५८ जना संक्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना संक्रमित देखिएका छन् ।

त्यस्तै अमेरिका पछी विश्वमा सबै भन्दा धेरै कोरोना भाइरस संक्रमित भएको दोस्रो देश ब्राजिल रहेको छ । जहाँ यो समाचार तयार पार्दा सम्म ३ लाख ९४ हजार ५०७ जना संक्रमित भइसकेका छन । त्यस्तै मृत्यु हुनेको संख्या २४ हजार ५९३ पुगेको छ ।

सबै भन्दा धेरै कोरोना संक्रमण भएको तेस्रो देश रुस रहेको छ । रुसमा यो समाचार तयार पार्दा सम्म ३ लाख ६२ हजार ३४२ जनालाई संक्रमण पुष्टि भइसकेको छ ।

रुसमा संक्रमितको संख्या धेरै भए पनि मृतकको संख्या भने निक्कै न्यून रहेको छ । यो समाचार तयार पार्दा सम्म रुसमा मात्र ३ हजार ८०७ जनाको मृत्यु भएको छ । रुसमा धेरै संक्रमित भेटिनुको कारण पनि रसियन सरकारले गरेको भारी कोरोना परिक्षण नै हो । रुस जसरी अमेरिका पछी धेरै संक्रमित भएको देश छ । त्यस्तै रुस अमेरिका पछी सबै भन्दै धेरै कोरोना संक्रमण परिक्षण गर्ने देश पनि हो । अहिले सम्म रुसले ९१ लाख ६० हजार ५९० जनाको कोरोना परिक्षण गरिसकेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गर्नु भएको छ । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताउनु भएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिनुभएको छ ।

नेपालमा पनि हाल सम्म ७७२ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । संक्रमित मध्ये ४ जनाको ज्यान गएको छ । त्यस्तै १५५ जना भने निको भएर घर फर्किएका छन । बाकी ६१७ जनाको उपचार भइरहेको छ । कोरोना माहामारी रोकथामका लागि सरकारले नेपालमा आगामी जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।

विश्वभर कोरोना भाइरस कोभिड-१९ बाट अहिले सम्म जम्मा संक्रमितको संख्या ५६ लाख ८८ हजार ५१६ पुगेको छ । त्यसै गरि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २७३ पुगेको छ । यस बीच निको भएर घर फर्किएकाहरु भने २४ लाख ३१ हजार ७९३ रहेका छन ।

पुरा देशको तालिका तल हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस