आजबाट सवारी साधनमा फेरी जोर बिजोर प्रणाली लागु (विज्ञप्तिसहित)


काठमाडौं, २२ साउन । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आजबाट जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको मन्त्रालय प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । यस्तै २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवातजावतलाई कडाइका साथ निषेध गर्ने, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति :

बन्दाबन्दीमा एक चौथाइले रोजगारी कटौती

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग÷व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग÷व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीको सहभागिता थियो ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७.९, बाग्मती प्रदेशबाट २३.३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२.८, सुदूरपश्चिम प्रदेशबाट ७.७, प्रदेश २ बाट ७.१ र कर्णाली प्रदेशबाट १.२ प्रतिशत नमूना सङ्कलन गरिएको थियो ।

सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योग÷व्यवसायको उत्पादन÷कारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजनालगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ ।

सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन ७३.८० प्रतिशतले घटेको छ । सर्वेक्षणमा सहभागी उद्योगी÷व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस