आजबाट मध्यम र लामो दुरीको यातायात सञ्चालनमा आउँदै, ५० प्रतिशतसम्म भाडा बढ्ने


झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस आजबाट संचालनमा आउने भएको छ । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै लामो तथा छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् । कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो ।

यातायात संचालन भएपनि चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । त्यसैले अब यात्रुहरुले भाडा भने पहिले भन्दा बढी तिर्नु पर्ने हुन्छ । तर सवारीसाधनले पनि सिट क्षमताको आधा मात्र यात्रु राखेर चलाउनु पर्ने छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस