पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा निधन


पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।

महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजय यादवले जानकारी दिनुभयो । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक बेहोस हुनुभएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराउनुभएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताउनुभयो ।

यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री हुनुहुन्थ्यो । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उहाँ स्वास्थ्यमन्त्री रहनुभएको थियो ।

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय हुनुभएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहनुभएको थियो ।

उहाँको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवको एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका श्रीमतीको एक वर्षअघि निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस