सिटी हल निर्माणको काम तीव्र गतिमा अघि बढ्यो


भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रुपमा लिएको सिटी हल निर्माणको काम तीव्र रुपमा अघि बढाइएको छ । वडा नं १० स्थित वाइपास सडकसँगै चार बिघा चार कठ्ठा जमीनमा सिटी हल निर्माणको काम भइरहेको छ ।

महानगरपालिकाले तेस्रो प्रयासपछि जग्गा प्राप्त गरी योजना अघि बढाएसँगै आज यहाँ स्थलगत रुपमा पत्रकार सम्मेलनको आयोजना गरी योजनाका बारेमा जानकारी गराइएको हो । सघन शहरी भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।

अत्याधुनिक यो सिटी हल नेपालकै नमूना सुविधा सम्पन्न वनाउन लागिएको छ । गत मङ्सिर महिनामा ठेकेदार कम्पनीसँग सम्झौता भई काम तीव्र गतिमा अघि बढाइएको हो । हाल सिटी हलका लागि जगमा ग्रावेल राख्ने र रडको काम भइरहेको छ । त्यसमा दैनिक ५० जनाभन्दा बढी मजदुर परिचालन गरिएका छन् । आयोजना स्थलमा नै रेडिमिक्स जडान गरी कामलाई अघि बढाइँदैछ । महानगर प्रमुख रेनु दाहालले पत्रकार सम्मेलनमा शिवनगर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटी हल निर्माण गर्ने गृहकार्य सफल नभएपछि यस ठाउँलाई चयन गरेर काम अघि बढेको बताउनुभयो ।

वडा नं १४ को शिवनगरमा ग्रामीण क्षेत्र भएकाले उपयुक्त नहुने परामर्शपछि क्यान्सर अस्पतालको जमीन छनोट गरिएको थियो । सम्पूर्ण प्रक्रिया पूरा गरेर मन्त्री परिषद्मा पुगेपछि निर्णय हुन नसकेसँगै हालको ठाउँ चयन गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा महानगरपालिकाको नाममा ल्याएर निर्माण अघि बढाइएको हो ।

उहाँले ठेकेदार कम्पनीलाई आवश्यक सहयोग गर्न महानगर तयार रहेको भन्दै निर्धारित समयमा गुणस्तरमा सम्झौता नगरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले ठेकेदार कम्पनी र आयोजनाका प्राविधिकको सक्रियताका कारण काम तीव्र रुपमा अघि बढेको बताउनुभयो । जग्गाको अन्तिम टुङ्गो लागेपछि बजेटको सुनिश्तता, गुरुयोजना, विस्तृत अध्ययन प्रतिवेदन, बोलपत्र प्रक्रियालगायत सम्पूर्ण प्रक्रिया पु¥याएर निर्माणको कामका लागि ठेकेदार कम्पनीसँगै सम्झौता गरेर काम अघि बढाउन लामो समय लागेको थियो ।

सभागृह निर्माणका लागि इण्डो सगुन रौताहा जेभी रुपन्दही र सघन शहरी भवन निर्माण आयोजना चितवनबीच सम्झौता भएको छ । बोलपत्र रकम मूल्य अभिवृद्धि कर बाहेक रु एक अर्ब छ करोड रहेकामा रु ७७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको हो । सिटी हलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।

दुई वटा भ¥याङ र दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार ५०० वर्ग मिटरमा हुने उहाँको भनाइ छ । जुन क्षेत्रफल एक बिघाको हुनेछ । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अति विशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा, २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको आकर्षक सिटी हल बन्ने अर्याल बताउनुहुन्छ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको सो सिटी हल देशकै नमूना हुने अर्यालको भनाइ छ । हालसम्म यति सुविधा सम्पन्न र सुन्दर सभागृह नेपालमा नरहेको प्राविधिक बताउँछन् ।

ठेकेदार कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि सहदेव खड्काले सम्झौता भएको मितिबाट २७ महिनाभित्रमा काम सक्ने गरी सम्झौता भएको भए पनि निर्धारित समयअघि नै काम सम्पन्न गर्ने बताउनुभयो । सिटी हल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिने छ । मध्य नेपालमा पर्ने चितवनमा अधिकांश सङ्घ सङ्गठन, दलले कार्यक्रम आयोजना गर्ने इच्छा भएर पनि ठूलो हलको अभावमा राजधानी केन्द्रित हुनुपर्ने बाध्यता सिटी हल निर्माणसँगै हट्ने छ ।

प्रतिक्रिया दिनुहोस